धनगढी पोष्ट
आइतबार, ०२ असोज २०७९ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र सम्बद्ध सबै निकायसँग आग्रह गरेकी छन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य डाक्टर देउवाले शनिबार विज्ञप्ति जारी गरी सुदूरपश्चिमको अछाममा पहिरोका कारण ज्यान गुमाएकाप्रति हार्दिक श्रदाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरिन् ।
साथै उनले पहिरोमा परेर घाइते भएकाहरूको तत्काल निःशुल्क उपचारको व्यवस्थाका लागि पनि नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरिन् ।
पहिरोमा परी ज्यान गुमाउनेहरूका आश्रित परिवारलाई आवश्यक सहयोग र उद्धारका लागि उनले आग्रह गरिन् ।
त्यसैगरी डाक्टर देउवाले कञ्चनपुरमा बाढीका कारण तीन सयभन्दा बढी घर डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएकाले सो क्षेत्रमा तत्काल उद्धार र राहतका कार्यक्रम लगी पीडितलाई सहयोग गर्न पनि अनुरोध गरिन् ।
वर्षायाममा हरेक वर्ष नेपालका विभिन्न भू–भागमा बाढी र पहिरोले ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुने गरेकाले यस समस्याको दीर्घकालीन समाधानका उपायहरूको पहिचान गरेर त्यसको कार्यन्वयन गर्न पनि उनले सरकारसँग अनुरोध गरिन् ।