धनगढी पोष्ट
सोमबार, १० असोज २०७९ मा प्रकाशित
धनगढी । कैलालीमा दैनिकजसै डेंगका विरामी बढ्दै गएका छन । स्वास्थ्य कार्यालय कैलालीका अनुसार जिल्लामा डेंगुको संक्रमण शुरु भएदेखि आईतबारसम्म विरामीको संख्या दुई सय नाघेको छ ।
लामखुट्टको टोकाईबाट सर्ने सो रोगका विरामी आईतबारसम्म दुई सय चार पुगेको छ भने मृत्यु हुनेको संख्या दुई रहेको छ ।
कैलालीका १३ वटा स्वास्थ्य संस्था तथा अस्पतालमा गरिएको परिक्षणमा डेगुका विरामी थपिने क्रम नरोकिएको स्वास्थय कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
कैलालीमा सबैभन्दा बढी डेंगुका विरामी लम्की नगरपालिकामा फेला परेका छन । आईतबारसम्म लम्कीमा डेंगुका ९४ जना विरामी फेला परेको स्वास्थ्य कार्यालयको तथ्यांकमा रहेको छ ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिकामा तीन जना, धनगढी उपमहानगरपालिकामा ६५, गोदावरीमा आठ, टीकापुर नगरपालिकामा ११ जना, भजनी नगरपालिकामा तीन, गौरिगंगा नगरपालिकामा छ जना विरामी फेला परेका छन ।
यस्तै, जोशीपुर गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच र बर्दगोरिया गाउँपालिकामा तीन जना विरामी फेला परेका छन ।
डेंगुबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, झ्याल–ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने, लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने जस्ता काम गर्नुपर्ने छ ।
एक्कासी उच्च ज्वरो आउने, ज्वरो ५ देखि ७ दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने, शरीरमा बिमिरा आउने, रिंगटा लाग्ने र वाकवाकी लाग्ने, बान्ता हुने जस्ता लक्षण भए नजिकको स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नुपर्ने छ ।
यस्तै, लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने र बेहोस हुने यस रोगको गम्भिर लक्षण हुन ।
डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फुल पार्छ । पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकी लगायत पानी जम्ने भाँडा तथा स्थानहरुमा यो लामखुट्टेले फूल पार्छ । डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरु बताउँछन् ।