धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

निर्वाचन आचारसंहिता लागु

धनगढी । यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनका लागि आयोगले आँचारसंहिता लागु गरेको छ ।

निर्वाचन आयोगले मंगलबार मध्य रातिदेखि लागु हुने गरि आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने छ । 

गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारेमा छलफल गरेको थियो ।

साथै आयोगले दलका प्रतिनिधिहरूलाई आफ्नो दल निर्वाचन आचार संहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

आचारसंहिता लागु भएसंगै कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि बर्जित हुन्छ । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ ।

यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न पनि पाइँदैन, गर्नै परे निर्वाचन आयोगको अनुमति लिनुपर्छ ।

दलको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट, झोला लगायत पनि बोक्न हुँदैन । तर उम्मेदवारले ‘ए–फोर’ आकारको कागजमा आफ्नो व्यक्तिगत विवरण खुलाएर वितरण गर्न भने मिल्छ । निर्वाचन प्रचारप्रसारको काम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइन्छ ।

प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न पाइन्छ तर दुई दलका मुख्य प्रचारकमात्र हेलिकप्टरमा हुनुपर्छ । तर साइकल, रिक्सा, ठेलागाडा, बयलगाडा, टाँगा  लगायतका सवारी साधन चुनाव प्रचारमा प्रयोग गर्न भने नपाइने निर्वाचन आचार संहितामा उल्लेख छ ।

आचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।