धनगढी पोष्ट
शुक्रबार, २१ असोज २०७९ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेसबाट कारवाहीमा परेका नेता पुष्करनाथ ओझाले कैलाली–५ बाट संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । क्षेत्र नम्बर–५ का नागरिक र स्वयं आफ्नो आत्म सम्मानका लागि स्वतन्त्र उम्मेदवारी दिने उनको भनाई छ ।
‘नेतृत्वको टिको लगाएर, झोलामा टन्न पैसा ल्याएर चुनाव जितिन्छ भन्ने भ्रम देखियो’ उनले भने, ‘पैसामा यस क्षत्रका नागरिकको आत्मसम्मान बिक्दैन भन्ने पुष्टि गर्न मैले उम्मेदवारी दिन लागेको हुँ, त्यो उम्मेदवारी स्वयं मेरो आत्मसम्मानका लागि पनि हुने छ ।’
तर आफु दलको विरुद्ध भने नभएको उनले बताए । आफु दल बनाउन लागेको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिनु आफ्नो बाध्यता भएको बताए । ‘कांग्रेस सभापति शेरबहादुर देउवा बाहेक कैलाली–५ अरुका लागि छोड्नु पर्ने कारण मैले देखेको छैन’ उनले भने, ‘यदि उहाँ यस क्षत्रबाट चुनाव लडेको भए म पछि हट्ने थिएँ, तर त्यस्तो अवस्था देखेन, अन्तिम समयसम्म पनि कांग्रेसले मलाई उम्मेदवार बनाउछ भन्ने आसामा छु ।’
उनले कांग्रेसबाट आघिकारिक उम्मेदवार बन्ने सम्भावना नरहेको भए पनि मनोनयनको अन्तिम समयसम्म पनि त्यो आशा भने नत्याग्ने बताए ।
२०७० को उप निर्वाचनमा कैलाली–५ बाट निर्वाचन जितेका नेता ओझालाई २०७४ को निर्वाचनमा असहयोग गरेको भन्दै कांग्रेको अनुशासन विभागले ५ बर्षका लागि कारवाही गरेको थियो । २०७४ को निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा कैलाली– ५ बाट निर्वाचन लडेकी थिइन्, उनी तत्कालिन नेकपाका उम्मेदवार नारदमुनि रानासंग पराजित भएकी थिइन् । आरजु पराजय हुनुमा पुष्करनाथ ओझाले महत्वपुर्ण भुमिका खेलेका भन्दै काँग्रेसले ओझालाई कारवाही गरेको थियो ।
२०५४ मा कैलालीको निवौचन क्षेत्र नम्बर ३ बाट सांसद बनेका ओझा सुचना तथा सँचार राज्यमन्त्री बनेका थिए ।