धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

काँग्रेस र एमालेका तीन/तीन जना स्वतन्त्र उम्मेदवार

धनगढी । उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसका तीन जनाले स्वतन्त्र उम्मेदावरी दर्ता गराएका छन् । कैलालीको ५ (२) मा १  जना, ४ (१) मा १ जना र बैतडीमा एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका महाधिवेसन प्रतिनीधि क्षितिज भण्डारीले कैलाली–५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

आरजुले कैलाली–५ छोडेपछि प्रतिनीधि सभामा आफु सर्वसम्मत उम्मेदवार रहेको दावी गर्दै आएका क्षितज भण्डारीले टिकट नपाएपछि प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका  छन् ।

 कैलाली–५ (ख) मा नेपाली कांग्रेसका तर्फबाट प्रकाश देउवा उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशी उम्मेदवार रहेका छन् ।

त्यस्तै कैलालीको क्षेत्र नम्बर ४ (२) मा  प्रदेश सभा सदस्यमा  काँग्रेसकी नेतृ भगवती पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । २०७९ बैशाखमा भएको निर्वाचनमा काँग्रेसबाट गोदावरी नगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी पाठक पाठक पराजित भएकी थिइन् ।

त्यस्तै बैतडीमा नेपाली काँग्रेसका नेता हरीमोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी  दर्ता  गरेका छन् । टिकट वितरणको  विषयमा असन्तुष्ट रहेका नेता भण्डारीले मुख्य  निर्वाचन अधिकृतको कार्यालयमा  पुगेर  बैतडीको प्रदेश सभा  क्षेत्र नं (१) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

टिकटको लागि संघर्ष गरिरहेका नेपाली कांग्रेसका महासमिति सदस्य  समेत रहेका भण्डारीले टिकट नमिले पछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । २०७४सालको चुनावमा  उनी बामगठबन्धनका उम्मेदवार प्रेम प्रकाश भट्ट आदित्य संग झिनो मतान्तरले पराजित भएका थिए ।

नेपाली काँग्रेसले प्रदेशसभा क्षेत्र नम्बर ‘क’ मा जिल्ला पार्टी  उपसभापति बीर बहादुर विष्टलाई  टिकट दिएको छ  भने प्रदेश सभा ‘ख’ मा पुर्व  जिल्ला पार्टी  सभापति शिव राज भट्टलाई  टिकट  दिएको  छ । 

एमालेका पनि तीन स्वतन्त्र उम्मेदवार
सुदुरपश्चिम प्रदेशमा  नेकपा एमालेका तीन जनाले स्वतन्त्र  उम्मेदवार बनेका हुन् । स्वतन्त्र उम्मेदवार बनेका मध्य दुई जना प्रदेश सभा सदस्य र एक जना प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।

डडेल्धुरामा नेकपा एमालेका नेता बिक्रम बहादुर शाही  प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभा सदस्यमा काँग्रेस बिपीका  कर्ण बहादुर मल्ललाई समर्थन गरेको छ भने प्रदेश सभाका दुई पदमा उम्मेदवारी दिएको छ ।

अन्य पार्टीलाई दिएको समर्थनमा चित्त नबुझेर आफुले उम्मेदवारी दिएको शाहीले बताए । जति मत आए पनि पार्टीका लागि हित हुने भएकोले उम्मेदवारी दिएको शाहीदे बताए ।

त्यस्तै बाजुरामा नेकपा एमालेका केन्द्रिय सदस्य सहदेव बोगटीे प्रदेश सभा क का लागि उम्मेदवारी दिएका छन् । पार्टीले टिकट दिदा मनोमानी गरेकोले आफुले  उम्मेदवारी दिएको बोगटीले बताए ।

कन्चनपुरमा एमालेका उपसचिव कर्ण बहादुर चन्दले ३ (क) को प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  उक्त प्रदेश निर्वाचन क्षेत्रमा एमालेले राप्रपाका उम्मेदवार धर्मराज जोशीलाई समर्थन गरेको छ ।  बिचार नमिल्ने पार्टीसँग गरिएको तालमेल स्वीकार्य नभएकोले उम्मेदवारी दिएको चन्दले बताए । 

२०७४ को चुनावको बेला पनि चन्दले स्वतन्त्र उम्मेदवारी दिएर पछि फिर्ता लगेका थिए । त्यतिखेर प्रदेश सभाको उम्मेदवार प्रकाश रावल रहेका थिए ।