धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

मुख्यमन्त्री, सभामुखदेखि मन्त्रीले उम्मेदवार हुन पाएनन्

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, सभामुख, उप सभामुख र अधिकांस मन्त्री टिकट बिहीन बनेका छन् ।

२०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ख बाट बिजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट यसपटक टिकट विहीन बने, उनको ठाउँमा यसपटक माओवादी केन्द्रबाट उनकै स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।

यसैगरी बझाङको प्रदेश सभा क बाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका सभामुख बनेका अर्जुन बहादुर थापा यस पटक टिकट विहीन बनेका छन् । नेकपा एमालेबाट चुनाव लडेका सभामुख थापाले जितेको स्थानमा यस पटक एमालेले छविलाल ओखेडालाई टिकट दिएका छ ।

प्रदेशकी उप सभाुमख निर्मला बडाल जोशी पनि यस पटक टिकट बिहीन बनेकी छन् । उनी २०७४ को निर्वाचमा नेकपा माओबादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी थिइन् । 

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बनेका कृष्णराज सुवेदी पनि यसपटक टिकट विहीन बनेका छन् । २०७४को निर्वाचनमा कैलाली क्षेत्र नम्बर–४ को प्रदेश निर्वाचन क्षेत्र ख बाट उनी निर्वाचित भएका थिए । अहिले सो क्षेत्रबाट एमालेका हरिसिंह साउँद उम्मेदवार बनेका छन् ।

बाजुराबाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रकाश शाह पनि यस पटक टिकट विहीन बनेका छन् । उनको स्थानमा बाजुराबाट लाल बहादुर थापा चुनावमा प्रतिस्पर्धा गर्दैछन् । उनले बाजुराको प्रदेश निर्वाचन क्षेत्र ख बाट चुनाव जितेका थिए । 

नेकपा माओबादी केन्द्रको समानुपातिक कोटाबाट सांसद बनेकी प्रदेशकी भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी विनीता चौधरी यस पटक माओबादीको समानुपातिक सूचिमा समेत अटाउन सकेकी छैनन् ।

सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी माया भट्ट पनि उम्मेदवार बनेकी छैनन् । उनलाई नेकपा एमालले बैतडीबाट समानुपातिक सांसद बनाएको थिए । अहिले उनि नेकपा एकिकृत समाजबादी पार्टीमा आबद्ध छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको पुर्व  आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले पनि यस पटक टिकट पाएकी छैनन् । उनी २०७४ मा नेकपा एमालेबाटसमानुपातिक प्रदेश सभा सदस्य बनेकी थिइन् । हाल उनी नेकपा एकिकृत समाजबादी पार्टीमा आबद्ध छिन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री बनेका टेकबहादुर रैका पनि टिकट विहीन बनेका छन् । उनी २०७४ मा नेपाली कांग्रसको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेका थिए । 

प्रदेश सरकारकी भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी पनि यस पटक टिकट विहीन बनेकी छन् । नेकपा एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी चुनकुमारी चौधरी हाल नेकपा एकिकृत समाजबादी पार्टीमा आवद्ध छिन् ।

त्यसैगरी सुदूरपशिचम प्रदेश सरकार आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरा पनि यस पटक टिकट विहीन छन् । उनी एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी थिइन् । 

समाुनपातिक कोटाबाटै प्रदेश सभा सदस्य बनेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी अर्चना गहतराजले पनि टिकट पाएकी छैनन् । त्यसैगरी सामाजिक बिकास राज्य मन्त्री बनेकी मनाकुमारी साउँद पनि टिकट विहीन छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्री बनेकी शुशीला बुडाथोकी र आर्थिक मामिला तथा योजना राज्य मन्त्री बनेका बदलेव सोडारीले पनि टिकट पाएका छैनन् ।