धनगढी पोष्ट
बुधबार, २६ असोज २०७९ मा प्रकाशित
धनगढी । दलित समुदायको नेतृत्व गर्दै २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य बनीन दुर्गा विक । बाम गठबन्धनबाट नेकपा एमालेबाट प्रदेश सभा सदस्य बनेकी दुर्गा अहिले नेकपा माओवादी केन्द्रमा छिन् । प्रदेश सभामा सक्रिय रहेकी दुर्गाले आगामी प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा उम्मेदवार बनाइएन ।
पार्टीभित्र उम्मेदवारको दाबी नगरे पनि दलित समुदायका आवाजहरुलाई सभामा उठाउन सक्ने क्षमता भएकी दुर्गा जस्तै दलित समुदायको प्रतिनिधित्व गर्ने योग्य मानिसलाई पार्टीले उम्मेदवार बनाउनमा चासो नदिएको दलित अधिकारकर्मीहरु बताउँछन ।
संविधानको प्रस्तावना मै समानुपातिक, समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाज निर्माण गर्ने संकल्प गरिएको छ । मौलिक हक अन्तर्गत धारा २४ ले छुवाछुत तथा भेदभाव अन्त्य गर्ने, धारा ४० ले दलितको सहभागिता र सशक्तीकरण गराउने र धारा ४२ ले सामाजिक न्याय सुनिश्चित गर्ने भनेका छन् । तर प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेश सभामा दलित समुदायको नेतृत्व समेट्न सकिएको छैन ।
‘मैले पहिलेदेखि नै भन्दै आएको छु । समाज भएको विभेद तथा वेथिति झै पार्टीभित्र पनि विभेद छ’ पुर्व प्रदेश सभा सदस्य दुर्गाले भनिन् ‘महिला तथा दलितको प्रतिनिधित्व गर्न सक्ने मानिसलाई दलहरुले प्राथमिकता दिएनन् । महिला र दलितको न्यायका लागि दलहरुले सोच्न सकेका छैनन ।’ उनले दलित तथा महिलाको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएका नेतृत्व भए पनि दलले उम्मेदवार बनाउन नचाहेको बताईन् । ‘दलितमा नेतृत्व गर्न सक्ने क्षमता नभएका व्यक्ति नभएका होइन’ उनले भनिन ‘तर, जुन वर्गका लागि आन्दोलन गरियो, त्यस अनुसार दलहरुले काम गर्न चाहेनन् । यसले गर्दा प्राप्त गरेका उपलब्धीहरु पनि अहिले ओझेलमा पर्दै गईरहेका छन् ।’
सुदुरपश्चिमबाट प्रतिनिधि सभाका १६ सिटमा एक सय ४३ र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि दुई सय ३० जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये प्रदेशमा डडेल्धुरा क्षेत्र नम्बर १ बाट नेकपा एमालेले चक्र प्रसाद स्नेही, जनता समाजवादी पार्टीले श्याम सिनाललाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दलित उम्मेदवार दिएका छैनन् ।
दलितबाट उम्मेदवार हुन नपाएपछि कैलाली र कञ्चनपुरबाट स्वतन्त्र रुपमै उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर १ मा विजय सिंह मयाल र कञ्चनपुर क्षेत्र नम्बर ३ मदन दमाईले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
सानो दलका रुपमा रहेको लोकतान्त्रिक राष्ट्रिय मञ्चले दार्चुला क्षेत्र नम्बर १ मा रमेश राम लुहार र कैलाली क्षेत्र नम्बर १ मा भोजबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिमा नेकपा माओवादी केन्द्रले दलित उम्मेदवार नबनाए पनि प्रदेशमा एक जनालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पनि प्रदेशमा दलित उम्मेदवार बनाएको छ । तर, नेपाली काँग्रेसले प्रदेशमा पनि दलित उम्मेदवार दिन सकेन ।
नेकपा माओवादी केन्द्रले बाजुरा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट कर्णबहादुर विश्वकर्मा र नेकपा एमालेले बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ बा अफिलाल ओखेडालाई उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसबाट विद्रोह गरेर गठन भएको नेपाली काँग्रेस विपीले पनि दलित उम्मेदवार खडा गरेको छ । बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट नेपाली काँग्रेस विपीले निर्मला कुमारी विकलाई उम्मेदवार बनाएको छ ।
प्रतिनिधिमा मात्र नभई प्रदेशमा पनि दलित समुदायको नेतृत्व गर्दै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेश सभा १ बाट दिवान मेजार (आग्री) र कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट भिमबहादुर कुमालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
कैलाली क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शेरबहादुर विश्वकर्मा, कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा २ मा प्रतापे लुहार, दार्चुला क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नन्दी कामी र कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा १ मा वृष बहादुर दमाईलाई उम्मेदवार बनाएको छ भने कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र दमाईलाई उम्मेदवार बनेका छन् ।