धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

आफ्नै स्वकीय सचिवसंग कृष्णको प्रतिस्पर्धा

धनगढी । २०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट निर्वाचित भए कृष्णबहादुर चौधरी । उनी प्रदेश सभा सदस्य बनेपछि कैलाश चौधरीलाई स्वकीय सचिवका रुपमा कार्यरत थिए । करिव दुई वर्ष कृष्णका स्वकीय रहेका कैलाश यस पटकको चुनावमा कृष्णसँग नै प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गदैछन् ।

नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष समेत रहेका कैलाशले उम्मेदवारी दर्ता गराएसंगै कृष्ण आफनै स्वकीय सचिवसंग चुनावी प्रतिष्पर्धामा रहेका छन् । कृष्णले सोही निर्वाचन क्षेत्रबाट प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

कृष्ण आफनै स्वकीय सचिवसंग मात्र नभई प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीका स्वकीय सचिव दीर्घराज विनाडीसंग पनि चुनावी प्रतिष्पर्धामा रहेका छन् । विनाडीले आईतबार बाम–लोकतान्त्रिकको साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।

कृष्णसंगै सो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट द्धवारीका प्रसाद न्यौपाने, जनता समाजवादी पार्टीबाट भगतराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भीमबहादुर बम, नेपाल मजदुर किसान पार्टीबाट विष्णाकुमारी थापामगर, नेपालका लागि नेपाली पार्टीबाट चन्द्रसिंह बोहरा, स्वतन्त्रमा चन्द्र कठरिया, ओजारीलाल चौधरी र छोटेलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको निर्वाचनमा १२ दल तथा व्यक्तिले सो क्षेत्रमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए । नेपाली काँग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पराजित गर्दै कृष्ण प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । सो निर्वाचनमा कृष्णले १२ हजार एक सय ८४ मत प्राप्त गरेका थिए भने प्रतिष्पर्धी जनकले नौ हजार तीन सय आठ मत प्राप्त गरेका थिए । नेकपा एमालेका उम्मेदवार लालबिर चौधरीले तीन हजार सात सय ४७ मत, संघिय समाजवादी फोरम नेपालका उम्मेदवार चन्द्रप्रकाश चौधरीले दुई हजार छ सय ८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भीमबहादुर बमले एक हजार पाँच सय २९ मत प्राप्त गरेका थिए ।