धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

प्रदेश सभा उम्मेदवार स्वकीय सचिवहरु

धनगढी । डोटी जिल्लाको प्रदेश सभा २ मा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शिवसिंह ओली प्रतिस्पर्धा गर्दैछन् ।  सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मााओवादीले उम्मेदवार बनाउने चर्चा रहेको थियो । तर, २२ गते राती नै मुख्यमन्त्री भट्टको ठाउँमा केन्द्रिय सदस्य ओलीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गर्यो । 

मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा ओलीले आईतबार (असोज २३ गते) उम्मेदवारी दर्ता गराई चुनावी प्रचार–प्रसारमा छन् । मुख्यमन्त्री भट्टको टिकट खोसेर उम्मेदवार बनेका ओली मुख्यमन्त्री भट्टकै स्वकीय सचिव हुन् । भट्ट सुदुरपश्चिमको मुख्यमन्त्री भएदेखि स्वकीय सचिव रहेका ओली उम्मेदवार हुदासम्म पनि स्वकीय सचिव रहेका थिए ।

स्वकीय सचिव हुदै प्रदेश सभाको उम्मेदवार बन्ने ओली सुदुरपश्चिममा एक्ला हैनन् । प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न पाईनन् । उनले प्रत्यक्ष निर्वाचनका लागि पार्टीमा दाबी गरे पनि पार्टीले उम्मेदवार बनाएन ।  तर उनकै स्वकीय सचिव दीर्घराज विनाडी कैलालीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सा २ मा उम्मेदवार बनेका छन् । बिनाडी बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हुन् । बिनाडी पनि बिनीता चौधरी मन्त्री बनेदेखि पाँच बर्षसम्म स्वकीय सचिव रहेका छन् । 

मंसिर ४ मा हुने प्रदेश सभाको निर्वाचनमा सुदुरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यका स्वकीय सचिव रहेकाहरुले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचनका लागि प्रदेश तथा प्रतिनिधि सभामा उम्मेदवार हुनबाट वञ्चित भएका मुख्यमन्त्री तथा मन्त्रीहरुका स्वकीय सचिवहरु नै चुनावी माहोलमा होमिएका छन् ।

 कैलालीको क्षेत्र नम्बर ५ प्रदेश सभा २ मा प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाका स्वकीय सचिव प्रकाश देउवा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरिरहेका छन् ।  धनगढीबाट नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका  प्रकाश बिगत लामो समयदेखि आरजुको स्वकीय सचिवको रुपमा  कार्यरत छन् । कैलालीको क्षेत्र नम्बर ५ मा चुनाव  लड्ने चर्चा भैरहेको बेला आरजु  डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक सूचिमा बसेपछि धनगढीबाट प्रदेश सभा सदस्यमा प्रकाश प्रतिस्पर्धा गर्न लागेका हुन् ।  २०७४ सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट कांग्रेस नृतृ आरजु पराजित भएकी थिइन् । प्रकाश प्रधानमन्त्री शेरबहादुर देउवा भतिजा हुन् । 

 त्यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा २ मा नेपाली काँग्रेस विपीबाट दीपक राज खैरले उम्मेदवारी दर्ता गराएका छन् । उनी वर्तमान सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका प्रदेश सभा सदस्य हुँदा स्वकीय सचिव रहेका थिए । दुई वर्ष भन्दा बढी रैकाको स्वकीय सचिव रहेका खैर सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा कार्यरत थिए । 

कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीका कैलाली जिल्ला अध्यक्ष समेत रहेका कैलाश चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी दुई वर्ष प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीका स्वकीय सचिव रहेका थिए ।