धनगढी पोष्ट
बिहिबार, २७ असोज २०७९ मा प्रकाशित
धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले धनगढीबाटै क्यान्सर रोगको उपचार गर्ने व्यवस्था मिलाउने गृहकार्य भइरहेको बताएका छन् ।
विश्व दृष्टि दिवशका अवसरमा बिहीबार धनगढीमा आयोजित कार्यक्रममा मेयर हमालले क्यान्सर रोगको उपचार गर्न सवै नागरिक बाहिर जान नसक्ने अवस्था रहेका कारण स्क्रिनिङ र किमो सेवा सञ्चालनका लागि भरतपुर क्यान्सर अस्पतालसंग सहकार्य गर्ने तयारी भइरहेको बताए । धनगढी–७ स्थित वेली स्वास्थ्य संस्थाबाट क्यान्सरको उपचार सेवा सञ्चालनका लागि अध्ययन भइरहेको उनले बताए ।
त्यसका लागि भरतपुर क्यान्सर अस्पतालका डाक्टरसंग एक चरणमा छलफल भएको उनले बताए । भरतपुर क्यान्सर अस्पतालका डाक्टर संगको परामर्सपछि क्यान्स रोगको उपचार सेवा सञ्चालन गर्न लाग्ने लागत र जनशक्ति के कति चाहिन्छ भन्ने बारेमा अध्ययन भएको मेयर हमालले बताए ।
‘क्यान्सर रोग लागेपछि बाहिर गएर सबै नागरिकले उपचार गर्न सक्ने अवस्था छैन’ उनले भने, ‘आर्थिक समस्याका कारण रोग पालेर बसेका नागरिकलाई लक्षित गरी धनगढीमै किमो सेवा सञ्चालन गर्न सकिन्छ की भनेर प्रयास गरिरहेका छौं, यदि किमो सेवा सुचारु गर्न सकेको खण्डमा आर्थिक रुपमा समस्यामा परेका यहाँका नागरिकलाई धेरै ठुलो राहत पुग्ने देखिन्छ ।’
मेयर हमालले उत्कृष्ठ व्यवस्थापन टिम पाएका कारण गेटा आँखा अस्पताल सवैको विश्वासिलो र भरपर्दो स्वास्थ्य संस्था बनेको बताए । अछामको बयलपाटा अस्पताल र अत्तरियाको श्रीपुरमा रहेको लक्ष्मीनारायण क्षयरोग उपचार केन्द्रमा पनि राम्रो विदेशी लगानी छ,’ हमालले भने, ‘यदी ती संस्थाको नेतृत्व असल मान्छेको हातमा परेको खण्डमा गेटा आँखा अस्पताल जस्तै बनाउन सकिन्छ, नेतृत्व कमजोर भए अरबौं विदेशी लगानी डुब्न सक्दछ ।’
उनले गेटा आँखा अस्पतालले विशेषज्ञ सहितको वडा स्वास्थ्य सेवामा सहयोग गर्दा सवै नागरिकले वडाबाटै आँखाको निशुल्क परिक्षण गर्ने मौका पाएको बताए ।
कार्यक्रममा गेटा आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डाक्टर सुरेसराज पन्तले यहाँका सवै नागरिकको सहयोग र गेटा आँखा अस्पतालका कर्मचारीको लगनशिलताका कारण अहिले सुदूरपश्चिम नेपालमै सवै भन्दा कम अन्धोपनको समस्या भएको प्रदेश बन्न सफल भएको बताए । गेटा आँखा अस्पताल स्थापनाको समयमा सुदूरपश्चिममा एक दशमलव दुई प्रतिशत नागरिकमा अन्धोपनाको समस्या रहेकोमा हाल सो समस्या शुन्य दशमलव २१ प्रतिशत नागरिकमा मात्रै रहेको उनले बताए ।
नेपाल नेत्र ज्योतिसंघका केन्द्रिय उपाध्यक्ष चक्र बहादुर सिंहले गेटा आँखा अस्पताल नेपालीको मात्र नभई भारतीय नागरिकको समेत विश्वासिलो संस्था रहेको बताए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लगनसिलताका कारण अस्पताल सवैको मन जित्न सफल भएको उनले बताए ।
गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिव्यप्रसाद पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।