धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
कृष्णपुर नगरपालिका

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योगमा जोड

धनगढी । कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले शिक्षा, स्वास्थय, कृषि, पर्यटन र उद्योगमा आत्मनिर्भर बनाउने गरि कार्यक्रम अघि बढाएको बताएका छन ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले एक अर्व १३ करोड ९३ लाख २४ हजार नौ सय ७१ वार्षिक बजेट विनियोजन गरेकोमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनलाई मध्य नजर गरि तयार पारेको बताएका हुन ।

शुक्रबार नगरपालिकामा गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख ओझाले पानी पिच र ग्राभेलका लागि छुट्याइएको बजेटलाई कटौती गर्दै शिक्षा, स्वास्थ्यका कार्यक्रममा राखिएको बताए । ‘पानी पिच र ग्राभेलका लागि छुट्याइएको बजेट दुरुपयोग भयो भन्ने आरोप आईरहन्छ’ उनले भने –‘नगरपालिकाले वडाको सिफारिसमा ग्राभेल तथा पानी पिच गर्ने गरि सो शिर्षकको बजेट स्वास्थ्य र शिक्षाका कार्यक्रममा राखिएको छ ।’

‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग–आत्मनिर्भर कृष्णपुरमा स्रोतको सदुपयोग भन्ने नारासहित नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गरेको नगर प्रमुख ओझाले बताए ।

कृष्णपुरमा जनप्रतिनिधिले कार्यभार सम्हालेको एक सय ४२ दिन पुगेको छ । नगर प्रमुख ओझाले स्वास्थ्य केन्द्रमा २४ सै घण्टा निशुल्क एमविविएस डाक्टर सहितको सेवा उपलब्ध गराउनुलाई उपलब्धीमा लिए । उनले भने –‘अहिलेसम्म डाक्टरसहितको सेवा अस्पतालबाट मात्र प्रदान भईरहेको थियो । यस नगरपालिकाले वडा नम्बर ५ गुलरियामा रहेको स्वास्थ्य सेवा केन्द्रलाई २४ सैं घण्टा निशुल्क सेवा उपलब्ध गराउन एमविविएस डाक्टर सहितको स्वास्थ्यकर्मीको टिम उपलब्ध गराएका छौं, यो एउटा मुख्य उपलब्धी हो ।’

उनले स्वास्थ्य केन्द्रमा उपचारार्थ भर्ना भई उपचार हुन नसकेका विरामीहरुलाई कैलाली र कञ्चनपुरका अस्पतालहरुमा रिफर गर्दा र विरामी भई आवश्यकता परेको खण्डमा बाँके, कैलाली रेडक्रसंगको समन्वय गरी निशुल्क रगतको व्यवस्था गरिनुका साथै वर्थिङ सेन्टर लगायत प्रयोगशाला सेवा निशुल्क गरिएको बताए ।

उनले वडा नम्बर २ मा आधारभुत स्वास्थ्य संस्था स्थापना गरि थप प्राविधिक जनशक्ति व्यवस्थापन गरिएको बताए ।

उनले विद्यालयमा अभाव रहेको शिक्षक तथा कर्मचारीहरुको पदपूर्ति, भौतिक संरचना अभाव रहेका विद्यालयमा भवन, शैक्षिक गुणस्तर सुधारका कार्यक्रम लगायतमा नगरपालिकाले जोड दिएको बताए ।

कृषितर्फ किसानहरुलाई सहकारीमार्फत विउविजन र मलखाद अनुदान, वास्तविक किसानहरुको पहिचान गरि किसान परिचयपत्र वितरण कार्यक्रम गरिन लागेको बताए । उनका अनुसार वडा नम्बर १ बाट किसान परिचय पत्र वितरण कार्य शुरु भएको र लगत्तै सम्पूर्ण वडामा रहेका वास्तविक किसानको पहिचान गरिने बताए ।

नगरपालिकाले अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सुकुम्बासी समस्या समाधान आयोगसंग समन्वय गरि वडा नम्बर ४ मा जग्गा नाप जाँच कार्य सम्पन्न गरेको, वडा नम्बर १, २ र ९ मा नापी कार्य जारी रहेको र वडा नम्बर ७ र ८ मा व्यवस्थित सेतो जग्गाधनी प्रमाण पूर्जालाई वैधानिकता दिने कार्य जारी रहेको बताए ।

देशभरीकै प्रमुख समस्याका रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थापन गर्न नगरपालिकाले दुई स्थानमा गौशाला निर्माण गरेको उनले बताए । उनका अनुसार नगरपालिकाले वडा नम्बर ४ र वडा नम्बर ५ मा गौशाला निर्माण गरि छाडा पशु चौपायाको व्यवस्थापन गरिरहेको छ । 

उनले वर्षायाममा सडकमा भएका खाडल, पानी जम्ने समस्या हटाउन खाल्डो पुर्ने, नदी कटान तथा डुवान लगायतको जोखिम हटाउन जैविक तटबन्धन गरेको बताए ।