धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

प्रचार प्रसारलाई तिब्रता दिंदै उम्मेदवार

धनगढी । प्रतिनिधि तथा प्रदेश सभाका उम्मेदवारहरुले चुनाव प्रचार–प्रसारलाई तिव्रता दिएका छन । 

मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरुले घरदैलो अभियान, सचिवालय समुदघाटन, विभिन्न चरणका भेटघाट लगायतका कार्यक्रम गर्दै चुनावी प्रचार–प्रसार तिव्र बनाएका हुन ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धन र स्वतन्त्र उम्मेदवारहरुले प्रचार–प्रसार तिव्र बनाएका छन । सत्तागठबन्धनले घरदैलो अभियान, सचिवालय उद्घाटन लगायतका गतिविधि गर्दै प्रचार–प्रसार तिव्र बनाएका छन । सत्ता गठबन्धनले शनिबार प्रतिनिधि र प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारलाई लक्षित गर्दै सचिवालय उद्घाटन गरेका छन । कैलाली क्षेत्र नम्बर ५ का २३ वटा स्थानमा सचिवालय उद्घाटन गर्दै प्रचार–प्रसार तिव्र बनाएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृपबहादुर वडले बताए ।

शनिबार कैलारी गाउँपालिका वडा नम्बर ६ मा सचिवालय उद्घाटन गर्दै प्रतिनिधि सभाका उम्मेदवार डिल्लीराज पन्तले उम्मेदवार हारे दलको हुने बताए । ‘म पनि कुनै राजनीतिक दलबाट आएको हुँ, तपाईहरु पनि दलमै हुनुहुन्छ’ उनले भने –‘यो हार उम्मेदवारको मात्र होइन । दलको हुने छ । दल बचाउन पाँच वर्ष हामी हार्यौँ । अझै पाँच वर्ष हारे २० वर्ष पर धकेलिनेछ ।’ उनले २० वर्षमा पार्टीकै अस्तित्व सकिने भएकाले कार्यकर्तालाई ईम्मानदारिपूर्वक लाग्न आग्रह गरे ।

उनले पुष्करनाथ ओझालाई आफैले नेपाल विद्यार्थी संघको सदस्यता दिएर नेपाली कांग्रेस प्रवेश गराएको स्मरण गर्दै उम्मेदवार ‘ओझाले पटक–पटक पार्टीबाट अवसर प्राप्त गरे पनि पार्टीलाई धोका दिए ।’

यस्तै सोही कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर–५ (क)का उम्मेदवार रमेश धामीले संविधानको रक्षा गर्न र देशको समग्र बिकासका लागि लोकतान्त्रिक बाम गठबन्धनको जित अनिवार्य रहेको बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य जीवन राना, जिल्ला सभापति नारायणदत्त भट्ट, महासमिति सदस्य गणेश देउवा, जिल्ला सह–सचिव रामसमझ राना, क्षेत्रिय सभापति भीमबहादुर पडाल, क्षेत्र नम्बर ५ (क)का सभापति सिताराम राना, धनगढी नगर सभापति यज्ञराज उपाध्यय, माओवादीका नेता रमेश भट्टराई, समाजबादीको नेता रामबजारी चौधरी लगायत  नेताहरुले मन्तव्य व्यक्त गरेका थिए । 

यस्तै, स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले पनि निर्वाचन क्षेत्रका विभिन्न वडामा सम्पर्क कार्यालय स्थापना गर्दै प्रचार–प्रसारलाई तिव्रता दिएका छन । शनिबार उनले धनगढी उपमहानगरपालिका वडा नम्बर १३, १५ र ६ मा सम्पर्क कार्यालय स्थापना गरे । उनले चुनावी प्रचार–प्रसारलाई थप व्यवस्थित र मतदातासंग आफना एजेण्डा घर–घरमा पुर्याउन हरेक वडामा सम्पर्क कार्यालय स्थापना गर्न लागेको बताए ।