धनगढी । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा २०४८ सालका चार जना उम्मेदवारहरु यस पटकको निर्वाचनमा प्रत्यक्ष प्रणाली निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रदेशमा २०४८ देखि उम्मेदवार बनेका प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका केन्द्रिय सचिव तथा पुर्वमन्त्री लेखराज भट्ट, पुर्वमन्त्री रामजनम चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्र प्रसाद बडु पहिलो पटक प्रतिस्पर्धा गरेको ३१ बर्षपछि पनि चुनावी प्रतिस्पर्धामा छन् । २०४८ सालको निर्वाचनमा देउवा, बडु र चौधरी बिजयी भएका थिए भने भट्ट पराजित भएका थिए ।
प्रदेशबाट उमेरले पाका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । जसले डडेल्धुराबाट यसपल्ट पनि चुनाव जितेमा सात पटक सांसद बन्नेछन् । देउवा डडेल्धुराबाट पहिलो पटक सांसद बन्दा ४४ वर्षका थिए ।
२०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवालाई मंसिर ४ को निर्वाचनमा रोक्ने प्रयास कुनै समय देउवाकै विश्वास पात्र रहेका मल्लले गर्दैछन् ।
प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा सात वटा पालिका छन् । जसमध्ये अजयमेरु गाउँपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, अमरगढी नगरपालिका र परशुराम नगरपालिका रहेका छन् ।
यी पालिका अन्तर्गतका वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा कांग्रेस अगाडि छ । त्यहाँ कांग्रेसले २१ हजार ७३५, माओवादी केन्द्रले १२ हजार ८७८, नेकपा एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१ र कांग्रेस बीपीले ३ हजार ६०३ मत पाएको छ। त्यस्तै, अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुले २ हजार ५४८ मत पाएका छन् ।
देउवा २०४८, २०५१, २०५६ मा डडेलधुराबाट निर्वाचित भएका थिए । २०६४ मा डडेल्धुरा र कञ्चनपुरबाट निर्वाचित भएका थिए भने २०७० सालमा डडेलधुरासंगै कैलालीबाट निर्वाचित भएका थिए । २०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका देउवालाई स्थानीय तहकको मतभार अनुसार रोक्न मुस्किल छ ।
स्थानीय तहको निर्वाचमा देउवाको गृह गन्यापधुरा गाउँपालिका–१ मा कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका थिए । भण्डारी ६ सय ७३ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा ५ पाँच सय ४४ मतसहित पराजित भए ।
स्थानीय तहको मतअनुसार एमालेले ल्याएको १० हजार ४४९ मत ल्याएका थिए ।
दार्चुलाबाट दिलेन्द्रप्रसाद बडु फेरि कांग्रेसबाटै प्रत्यक्षमा उम्मेदवार छन् । उनी २०४८ सालदेखि सोही निर्वाचन क्षेत्रमा उमेदवार बनेका छन् । २०५६ सालको आम निर्वाचनमा बडु प्रतिनिधि सभामा निर्वाचित भएका थिए । २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका बडु यस पटक प्रत्यक्षतर्फ उम्मेदवार बनी निर्वाचनमा होमिएका छन् ।
०७० र ०७४ सालको चुनावमा लगातार जित हात पारेका नेकपा एमालेका गणेश सिंह ठगुन्ना बडुसँग प्रतिस्पर्धामा छन् । २०७० र ०७४ मा चुनाव जितेर संसद् बनेका गणेश ठगुन्नासंग बडुको चुनावी प्रतिष्पर्धा रहेको छ ।
प्रतिनिधिसभा सदस्य पदका लागि दार्चुलाबाट नेपाली कांग्रेसबाट बडू, नेकपा एमालेबाट ठगुन्नासंगै नागरिक उन्मुक्ति पार्टीका तारा दत्त जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका देवबहादुर बम, नेश्नललिष्ट पिपुल्स पार्टीका धर्म सिंह दयाली, राष्टिूय प्रजातन्त्र पार्टीका नरेन्द्र सिंह धामी, संघिय लोकतान्त्रिक राष्टिू मञ्च पार्टीका रमेशराम लुहार, राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्द्र सिंह धामी र नेपाल किसान पार्टीका विश्वराम दुवाल चुनावमा होमिएका छन् ।
दार्चुलामा ४३ हजार छ सय ११ महिला र ४५ हजार पाँच सय ४३ जना पुरुष मतदाता रहेका छन् ।
कैलाली क्षेत्र नम्बर १ बाट २०४८ सालमा संयुक्त जनमोर्चाबाट उम्मेदवार बनेका थिए हाल नेकपा एमालेका केन्द्रिय सचिव लेखराज भट्ट । उनी नेपाली काँग्रेसका उम्मेदवार पूर्व सांसद गंगाबहादुर कुँवरसंग पराजित भएका थिए । २०५१ र २०५४ सालको निर्वाचन सो पार्टीले चुनाव बहिष्कार गरेको थियो भने २०५६ सालमा भट्ट जनयुद्धमा होमिईसकेका थिए ।
२०६४ सालको निर्वाचनमा तत्कालिन कैलाली क्षेत्र नम्बर ५ (हालको निर्वाचन क्षेत्र नम्बर ४) मा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका भट्ट २०७० सालमा नेपाली काँग्रेसका उम्मेदवार दीर्घराज भाटसंग पराजित भएका थिए । २०७४ सालमा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचनमा नेपाली काँग्रेसका सुनिल भण्डारीलाई हराउँदै बाम गठबन्धबाट प्रतिनिधि सभामा भट्ट विजयी भएका थिए । भट्ट अहिले प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार बीरबहादुर बलायरसंग चुनावी मैदानमा प्रतिष्पर्धामा रहेका छन् ।
स्थानीय निर्वाचनमा कांग्रेसले १५ वडा जितेको छ । माओवादी केन्द्रले ४ र एकीकृत समाजवादी एउटामा विजयी भएका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ९ वडा जितेको छ ।
कैलाली क्षेत्र नम्बर २ बाट २०४८ सालमा सांसद बने पुर्वमन्त्री रामजनम चौधरी । पाँच पटक सांसद बनेका चौधरी छैटौं पटक पनि सांसद बन्ने दाउमा रहेका चौधरी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । २०७४ को चुनावमा कैलाली ३ मा वाम गठबन्धनसँग हारेका पूर्वमन्त्री रामजनम चौधरीलाई कांग्रेसले यसपटक कैलाली १ मा उम्मेदवार बनेका छन् । गठबन्धनको बलमा ०७४ को हारलाई जितमा बदल्ने योजनाका साथ चौधरी कस्सिएका छन् ।
उनी कैलाली ३ नम्बर क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गौरीशंकर चौधरीसँग पराजित भएका थिए । अहिले गौरीशंकर माओवादी त्यागेर एमालेमा छन् ।
रामजनम वि.सं. २०४८ सालदेखि २०७० सालसम्म अपराजित नेता हुन् । उनले ०४८, ०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जिते ।
०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले जित हात पारे । ०६४ सालमा चुनाव लड्दा जित सुनिश्चित नहुने बुझेपछि विजय गच्छदारको पार्टीमा प्रवेश गरेर समानुपातिक कोटाबाट सभासद चुनिएका थिए ।
०७० सालमा दोस्रो संविधानसभाको चुनावमा मधेशी जनअधिकार फोरमबाट कैलाली क्षेत्र नम्बर ३ बाट चुनाव जिते । अनवरत सांसद हुँदै आएका रामजनमले पहिलोपटक ०७४ सालको चुनावमा पराजय व्यहोर्नु पर्यो ।
कैलाली ३ मा रामजनम वामगठबन्धनबाट माओवादीका गौरीशंकरसँग चार हजार तीन सय ८५ मतान्तरले पराजित भए । त्यस बेला गौरीशंकरले २४ हजार आठ सय ७९ मत ल्याउँदा रामजनमले २० हजार चार सय ९४ मत ल्याएका थिए ।
यसपटक गठबन्धनको साथले ०७४ को हारको बदला लिँदै रामजनम जित निकालेर फेरि संसद यात्रा तय गर्ने योजनामा छन् । उनीसंग अहिले नागरिक उन्मुक्ति पार्टीकी केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपा एमालेबाट उम्मेदवार बनेका टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र रावल चुनावी प्रतिष्पर्धामा छन् ।
कैलाली क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिकाका ९, जोशीपुर गाउँपालिकाका ७, जानकी गाउँपालिकाका ५ र भजनी नगरपालिकाका २ वडा गरेर कूल २३ वडा पर्दछन् ।
यी पालिकामध्ये गत वैशाखको स्थानीय चुनावमा टीकापुरको उपमेयरबाहेक अन्यको प्रमुख र उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।
नागरिक उन्मुक्तिले कैलाली १ मा पर्ने २३ वडामध्ये ११ वडामा जित निकालेको छ । जुन सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको भन्दा बढी हुन आउँछ । माओवादीले ५, कांग्रेस र एमाले ३÷३ तथा जसपाले एक वडा जितेको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधार सत्ता गठबन्धन अगाडि छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले पाएको कूल मत २० हजार आठ सय ४० छ ।
जसमा कांग्रेस उम्मेदवारको ११ हजार छ सय ७८ मत, माओवादी केन्द्रको छ हजार नौ सय ३० मत र एकीकृत समाजवादीको दुई हजार दुई सय ३२ मत छ ।
१ नम्बर क्षेत्रमा पर्ने २३ वडाका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार एक सय ९३ मत पाएका छन् ।
नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारको १० हजार तीन सय २२ मत र जसपाका उम्मेदवारको दुई हजार तीन सय दुई गरेर एमाले–जसपा गठबन्धनसँग कूल १२ हजार छ सय २४ मत छ । यस्तै, यहाँ राप्रपाका अध्यक्षका उम्मेदवारले पाएको मत तीन हजार पाँच सय ६१ छ ।