धनगढी पोष्ट
शुक्रबार, ०४ कार्तिक २०७९ मा प्रकाशित
धनगढी । नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ५ को प्रतिनिधि सभामा उम्मेदवार रहेका पुर्वमन्त्री नारदमुनि रानाले आफु जातीवादी नेता नभएको बताएका छन ।
धनगढीमा आयोजित संवाद कार्यक्रममा उम्मेदवार रानाले आफु पार्टी विचार, सिद्धान्तका आधारमा चुनावी प्रतिष्पर्धामा लागेको बताएका हुन् ।
‘म जातीवादी नेता होइन’ उनले भने –‘म एमालेको पोलिटब्युरो सदस्य र कैलालीको इन्चार्ज हुँ । म पार्टीको विचार, सिद्धान्तबाट अघि बढिरहेको छु । मैले कही पनि जातीयताको कुरा गरेको छैन ।’
उनले आफु सांसद हुँदा थुप्रै काम भएको बताउँदै त्यसबारेमा जहा पनि जवाफ दिन सक्ने बताए । ‘मेरो क्याम्पस रोडमा घर छ । यो सभामा मैले जवाफ दिन कुनै अप्ठ्यारो छैन । मैले यहाँ स्पष्ट पार्न नसकेको कुरा घरमै आएर पनि सोध्नु होला । हरेक मञ्च, फ्लोर, संवादमा म जवाफ दिन तयार छु । तपाईहरुसंग विवेक, क्षमता छ’ उनले भने –‘मेरो पाँच वर्षे कार्यकालको फेरिस्ति तपाईहरु माझ केही दिनमा राख्ने छु । मैले शिक्षा, कृषि, स्वास्थ्य, पुर्वाधार विकासका लागि काम गरेको छु ।’
उनले आफुले हुलाकी सडकको स्तरोन्नित गराएको बताए । उनले भने ‘भारतको सहयोगमा हुलाकी सडक त बन्यो तर, गुणस्तरिय हुन सकेको थिएन । नेकपा एमालेको सरकार हुँदा अहिले धनगढीको क्याम्पसरोडदेखि फुलवारीसम्म चार लेन बन्दै छ ।
उनले आफनो घर नजिक नबने विकास भएन भन्ने सोच नराख्न धनगढीबासीमा आग्रह गरे ।
नेता रानाले सेती प्रादेशिक अस्पताल हरेक निर्वाचनमा चुनावी फण्डा बन्ने गरेको बताए । उनले सेती प्रादेशिक अस्पताल स्तरोन्नत भएको छ, तर अहिले पनि विशेषज्ञ सहितको सेवाहरु थप हुन नसकेको बताए ।
उनले देश, मुलुक, जनता सारा गठबन्धनका कारण खतरामा परेको बताए । उनले आफु राष्ट्रियता र स्वाभिमान कसैसंग साट्न नचाहने बताए ।