धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

थारु समुदाय मधेशी होइनः थारु अधिकारकर्मी

धनगढी । थारु समुदायलाई मधेशी सुचिकरणमा नराख्न थारु अधिकारकर्मीहरुले माग गरिएको छ ।

थारु कल्याणकारिणी सभा, थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु विद्यार्थी समाज, थारु नागरिक समाजले संयूक्त विज्ञप्ती जारी गर्दै थारु समुदायलाई मेधशी क्लस्टरमा समावेश गरेकोप्रति आपत्ती जनाएको छ ।

थारु कल्याणकारिणी सभाका कार्यवाहक सभापति माधव चौधरीले थारु जातीलाई मधेशीमा समावेश गरिनु गैरजिम्मेवारीपूर्ण कार्य रहेको बताए । मधेश आयोगले पेश गरेको चौथौं वार्षिक प्रतिवेदनमा थारु समुदायलाई मधेशी क्लस्टरमा सुचिकरण गरिएको छ । 

संयूक्त प्रेस विज्ञप्तीमा भनिएको छ –‘राज्य सरकार शासक प्रशासक र गैर राज्य तथा प्रतिक्रियावादी पक्षबाट नियोजित ढंगले थारु जातिको पहिचान, अस्तित्व माथी धावा बोल्दै मधेशी सुचिकृतमा विगतदेखि पटक–पटक गलत क्रियाकलापहरु हुँदै आएको सर्वविदित छ । सचेत गराउँदा पनि संवैधानिक मधेशी आयोगले थारु सुचिकरण अध्ययनका नाम तथा आधार प्रमाण विना राजनीतिक आडमा आदिवाशी थारु जातिलाई मधेशीमा सुचिकरण गरेको प्रति पूर्ण असहमति र आपत्ती रहेको छ ।’

संयूक्त विज्ञप्तीमार्फत सो प्रतिवेदन सच्याउन माग गरिएको छ । भनिएको छ –‘मधेशी आयोगले थारु समुदायलाई सुचिकरण गरेको दुस्प्रयास तथा सिफारिस प्रतिवेदन तत्काल सच्याउन हुन सम्बन्धित आयोगलाई अनुरोध गर्दर्छौ । यदि आफनो प्रतिवेदन सिफारिसमा थारु जाती सुचिकरण नसच्याए त्यसबाट हुन जाने आंशातित क्षतिको जिम्मेवारी आयोगले लिनु पर्ने छ ।’