धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
मतदातासँग नजिकिने उम्मेदवारको तरिका

कोही धान काट्दै, कोही पुरस्कार दिंदै

सिबि चौधरी

धनगढी । कैलाली क्षेत्र नम्बर ५ प्रदेश नम्बर २ मा उम्मेदवार नेकपा एमाले सचिव समेत रहेका डेजी पाण्डेले मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा कृषकको धान काँटेर चु्नावी प्रचार प्रसार अघि बढाए । सामाजिक सञ्जालमा धान काटेको तस्बिर राख्दै आफुले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भनेर चुनावी प्रचार–प्रसार अघि बढाएका हुन् ।

‘धान काटेको मात्र होइन, रोपेको पनि हो है एक किसानको छोरोले’ धान काटेको भिडियो सार्वजनिक गर्र्दै  पाण्डेयले भने ‘आफ्नो निर्वाचन क्षेत्र मात्र नभई समग्र सुदुरपश्चिममा कृषि आवश्यक छ र  कृषिबाट नै यस क्षेत्र को विकास गर्न सकिन्छ । धेरैले रोजगारीको लागि आफ्नो ठाँउ छोडनु पर्ने बाध्यता पनि हट्छ, नेतृत्वले सम्पुर्ण कृषकलाई कमिसनको आधारमा नभई कामको आधारमा प्रोत्साहन गर्नु पर्दछ र उहाहरुको उत्पादन को ग्यारेण्टी सरकारले लिनु पर्दछ ।’

बझाङ क्षेत्र नम्बर १ का उम्मेदवार बनेका नेकपा एमालेका ऐन सिंह महरले बझाङमा जिल्ला स्तरिय खुल्ला प्रतियोगिताका विजेतालाई प्रथम पुरस्कार भनी नगद ४१ हजार प्रदान गरे । महरको यस गतिविधिबारे निर्वाचन आयोगले स्पष्टिकरण पनि माग गरिसकेको छ ।

पाण्डे र महर मात्र होइन, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिएसंगै उम्मेदवारहरुले मतदाता रिझाउन विभिन्न गतिविधि गरिरहेका छन् । कोही धान काँट्दै किसानसंग नजिक बन्न खोजिरहेका छन् । कोही जिल्ला तथा स्थानिय तहमा आयोजित विभिन्न प्रतियोगितामा नगद सहयोग, कोही विभिन्न वर्ग, समुदायमा आश्वासन बाँड्दै मतदातालाई आकर्षण गर्न लागिरहेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ को उर्मा क्षेत्रमा पाँच दिन अघि मात्रै उम्मेदवारका समर्थकले किसानको खेतमा धान काट्ने काममा सहयोग गरेर मतदाता रिझाउने प्रयास गरेका हुन् । ‘धान भित्र्याउन किसानलाई समस्या पर्दा कार्यकर्ताबाट स्वःस्फूर्तरुपमा सहयोग भएको हो’, प्रदेशसभाका प्रत्यासी रमेश धामीले भने ‘किसानलाई समस्या पर्दा हामीहरु जहिले पनि सहयोगी बन्ने गरेका छौँ ।’

चुनावी प्रसारप्रचारका लागि समर्थक सहित प्रत्यासी गाउँबस्तीमा पुग्न थालेपछि चुनावी रौनक बढ्न थालेको छ । सबै दलका र स्वतन्त्र उम्मेदवारले वडा टोलमा प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेर आ–आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् ।

नेपाली काँग्रेस कैलालीको संगठन बिभाव सदस्य अमृत बिसीले भने ‘पहिलो चरणमा पार्टी पंक्तिलाई चुनावी प्रचारप्रसारका लागि क्रियाशील बनाइरहेका छौँ, विस्तारै घरदैलोमा जान लागेका छौँ ।’

अहिले दलका उम्मेदवारहरु चुनावी प्रचार–प्रसारमा रहे पनि कृषकहरु धान काट्नमै व्यस्त छन् । दलहरुले आयोजना गर्ने चुनावी सभामा वडामा नेतृत्व गरिरहेका विभिन्न दलका प्रतिनिधि तथा पदाधिकारीहरुको सहभागिता हुने गरेको छ ।