धनगढी पोष्ट
आइतबार, १३ कार्तिक २०७९ मा प्रकाशित
धनगढी । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ मा ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भन् र एक बालिका घाईते भएकी छिन् । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण बालकको मृत्यु हुँदा र महिला घाईते भए पनि नेपाल र भारत दुबै सरकारले आधिकारिक प्रतिक्रिया दिएका छैनन ।
भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो । उक्त घटनामा १४ वर्षीया बालिका सरीना महरा घाइते भएकी छन् । घाइत् बालिकाको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ ।
कुनै पनि क्षेत्रमा पुर्वाधार निर्माण गर्दा बम ब्लास्ट गरिन्छ भने त्यो क्षेत्रको करिब दुई किलो मीटर क्षेत्र मान्छे नपस है भन्दै पहिले नै माइकिङ गर्नुपर्छ । ‘दुई चार घन्टा अघि नै जानकारी दिएर ब्लास्ट गर्नु पर्ने हो’ गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले भने –‘त्यो जानकारी नै नदिएर ब्लास्ट गर्दा ढुंगा उछिट्टिएर महाकाली नदीवारी रहेको नेपाली बालकको मृत्यु भयो ।’
उक्त क्षेत्रमा भारतीय पक्षबाट भएको यो पहिलो अमानवीय कार्य थिएन । यस अघि २०७८ साउन १५ मा दार्चुलाको मालघाटमै महाकाली नदी तर्न लाग्दा भारतीयले तुइनको खुस्काइदिए, जसले गर्दा व्यास गाउँपालिका वडा नम्बर २ स्थित खाङदाङका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भए । भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले उक्त तुइन खुस्काइ दिएको गृह मन्त्रालयले गरेको छानबिनले पत्ता लागेको थियो । त्यही अनुसार नेपालले भारतलाई घटनामा संलग्नलाई कारवाही गर्दै बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्न आग्रह गरेको थियो । तर उक्त घटनालाई लिएर भारतीय पक्षबाट सकारात्मक जवाफ आएन । नेपाल सरकारले नै धामीको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
गल्ती स्वीकार गर्नु र धामीको परिवारलाई क्षतिपूर्ति दिनुभन्दा भारतले महाकाली नदीमा मोटरेबल पुल बनाइदिने निर्णय ग¥यो । काठमाडौंस्थित भारतीय राजदूतावास र नेपालको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबीच उक्त पुल निर्माणका लागि २०७८ माघ १८ मा सम्झौता भयो । त्यही सम्झौता अनुसार उक्त पुलको शिलान्यास पनि भइसकेको छ ।
सरकार कहिलेसम्म मौन ? : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे तत्काल सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । समाजिक सञ्जालमार्फत उनले यस्तो माग गरेका हुन् ।
यस्तै उनले यस घटनामा प्रधानमन्त्री शेर बहादुर देउवाको जवाफ पनि माग गरेका छन् । उनले भारतद्वारा नेपालमाथि हुने गरेका विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा मौन रहेको आरोप लगाएका छन् ।
महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिना सूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको थियो ।
‘नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका– २ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन्’ ओलीले देउवालाई सोधेका छन्, ‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’
यस्तै, नेकपा (एमाले)का नेता भीम रावलले सिमानामा भारतले ज्यादती गर्दा परराष्ट्र मन्त्रालय मौन रहेकोमा प्रश्न गर्दै असन्तुष्टि व्यक्त गरेका छन् । भारतले सडक निर्माणका क्रममा विस्फोट गर्दा खसेको ढुंगाबाट नेपाली भूमिमा बालक पवन महराको मृत्युको घटनामा परराष्ट्र मन्त्रालयले बोल्नु पर्ने नेता रावलको माग छ ।
रावलले शनिबार सामाजिक संजालबाट दार्चुला घटनाको विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक भूमिका खेल्नु पर्ने भन्दै उक्त टिप्पणी लेखेका हुन् ।
‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद् निधन भएको छ । १४ वर्षीया सरीना महरा घाइते भएकी छन्,’ उनले सोधेका छन्, ’सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?’
दार्चुलामा भएको घटनाको बारेमा परराष्ट्र मन्त्रालयले आधिकारीक रूपमा केही बोलेको छैन । उक्त घटनाको सामाजिक संजाल लगायतमा विरोध भइरहेको छ र सरकारले यस घटनाका विषयमा बोल्नुपर्ने र विरोध जनाउनुपर्ने माग भइरहेको छ ।
गत वर्ष महाकाली माथिको तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएका थिए । उक्त तुइन भारतीय एसएसबीले काटेको प्रत्यक्षदर्शीले बताएका थिए ।
क्षतिपुर्ति दिन निर्माण कम्पनी सहमत
धनगढी । निर्माण कम्पनीको लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनिले स्वीकार गदे क्षतिपुर्ति दिन सहमति जनाएको छ ।
शनिबार दुई पक्षीय छलफलका क्रममा निर्माण कम्पनीले आफुहरुको हेल्चक्रयाईका कारण बालकको मृत्यु भएको भारतीय सडक निर्माण कम्पनीले स्वीकार गरेको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए । उनले भने, ‘शनिबार भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल भएको छ । भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति दिन प्रतिक्रिया दिएको छ । यद्यपी कागजपत्र भने बनेको छैनन् ।’
अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले परिवारका बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ । तर, नीजि कम्पनी भएकाले आफूहरुलाई रोजगारी भन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ ।
शुक्रबार जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ मा भारतीय पक्षले महाकाली नदीपारि सडक निर्माण गर्ने बेला एक बालकमाथि ढुङ्गा लाग्दा मृत्यु भएको थियो । भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो । यस्तै १४ वर्षीया सरीना महरा घाइते भएकी छन् । अहिले उनको जिल्ला अस्पतालमा उपचार भैरहेकोे छ ।
गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन विस्फोट गर्दा उछिट्टिएको ढुंगाले महराको मृत्यु भएको थियो । घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारतको धार्चुला गएको थियो । उनीहरुले अन्तराष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती हुने गरेकोले यस्तो गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेका छन् ।
यसअघि पनि भारतबाट आएका ढुंगा तथा विस्फोटको कम्पनले आफ्नो घर चर्किएको, खेत बाँझिएको र आँगनमा बाधिएका पशुवस्तु समेत मरेपछि विस्थापित भएको मृतक बालकका बुवा हिक्मतसिंह महराले बताए ।