धनगढी पोष्ट
सोमबार, ०५ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । दार्चुलामा एक युवक मृत अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार मृत फेला पर्नेमा दार्चुलाको खलंगा बजारमा होटल व्यवसाय गर्दै आएका ३५ वर्षीय नरेन्द्र विष्ट रहेका छन् । उनि शुक्रबार मात्रै खलङ्गाबाट व्यास गएका थिए ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ भने, स्थानीयले युवकको हत्या गरिएको आरोप लगाइरहेका छन् ।
नरेन्द्रले मतदानको दिन मत हाल्न नआएपछि रातिदेखि खोजी गरेको मृतकका आफन्त मोहनसिंह विष्टले बताए । ‘काका मत हाल्नकै लागि गाँउ आएका थिए, ‘विष्टले भने, ‘मतदानको अधिल्लो दिन गठबन्धनका मान्छेसंग विवाद भएको सुनियो, ‘उनले भने, ‘गठबन्धनलाई वा एमालेलाई मत दिने विषयमा विवाद भएको रहेछ, उक्त समूहले नै हत्या गरेर फालेको हो ।’
स्थानीयले घटनाका दोशीलाई कानुनी दायरामा नल्याउँदासम्म शव नबुझ्ने अडान लिएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । घटना शंकास्पद -हत्याको जस्तो प्रकृति_ भएको प्रहरीको भनाइ छ ।