धनगढी पोष्ट
आइतबार, १८ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । बैतडीमा घाँटी रेटेर हत्या गरिएकी २१ वर्षीया माया लुहारका हत्या प्रकरणमा आरोप लागेका सशस्त्र प्रहरी का जवान भरतराम कोली कञ्चनपुरबाट पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट उनलनाई पक्राउ गरिएको हो ।
प्रदेश प्रहरी कार्यालय धनगढीका सुचना अधिकारी भोलाबहादुर रावलका अनुसार कोली आईतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बैतडी बुझाईने सुचना अधिकारी रावलले बताए ।
मंगलबार घरबाट लुगा सिलाउन भनी कुलाउ गएकी पञ्चेश्वर गाउँपालिका–४ की माया बुधबार शिवनाथ–६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा फेला परेकी थिइन् । उनीसँगै गएकी नेहा लुहार पनि घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते भएको अवस्थामा फेला परेकी थिइन् ।
मृतकका आफन्तले सशस्त्र प्रहरी जवान कोलीको नाममा किटानी जाहेरी दिएका थिए । फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थियो। २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए ।