धनगढी पोष्ट
बिहिबार, २२ मङि्सर २०७९ मा प्रकाशित
धनगढी । कञ्चनपुरको बेदकोट नगरपालिकामा जीउदै गाई गाडेको विरोधमा स्थानीय आन्दोलनमा उत्रेका छन् । मंगलबार बेदकोट–३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइएपछि बुधबार फेरि स्थानीय बासिन्दाले नगरपालिका घेराउ गरेका छन् । जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयले नगर कार्यालय घेराउ गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । बिहान तनाव सिर्जना भएपनि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ ।
वेदकोटमा तीन दिनदेखि छाडा पशुचौपाया व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरुले नगरपालिकाविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरु पशुचौपायाले अन्नबाली खाएर हैरान बनाएको भन्दै उचित व्यवस्थापनको माग गरेका हुन् ।
आन्दोलनपछि नगरपालिकाले सोमबार राति पशुचौपायालाई ट्रकमा हालेर वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरेको गौशालामा लगेको थियो । तर मंगलबार भने ती पशुचौपाया गौशालाबाट अज्ञात समूहले निकालिदिएको नगरपालिकाको दाबी छ । तर, स्थानीयले भने नगरपालिकाले मारेर गाडेको आरोप लगाएका छन् ।