धनगढी पोष्ट
बुधबार, २० पुष २०७९ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सात दिन भित्र मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गरेका छन् । प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएकोले प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्न प्रदेश सभा सदस्यलाई पुस २७ गतेभित्र मुख्यमन्त्रीको दावी पेश गर्न आव्हान गरेका हुन् ।
“संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले” प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दिर्घराज भट्टद्धारा बुधबार प्रकाशित सुचनामा भनिएको छ “सुदुरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदुरपश्चिम प्रदेको मुख्यमन्त्री नियुक्त गर्नको लागि मिति २०७९।०९।२७ गते बुधबार बेलुका ५ बजेभित्र दावी पेश गर्न आव्हान गर्नु भएको छ ।”
सुदुरपश्चिम प्रदेश सभाको ५३ सदस्यका लागि भएको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत पुगेको छैन । संघीय सरकार निर्माणका लागि भएको गठबन्धनमा आवद्ध दलहरु नेकपा माओवादी, एमाले, राप्रपा र नागरिक उन्मुक्तिको बहुमत पुगे पनि कसले मुख्यमन्त्री लिने भन्ने सहमति अझै हुन सकेको छैन ।