धनगढी पोष्ट
शनिबार, २३ पुष २०७९ मा प्रकाशित
काठमाडौं । काठमाण्डौको साझा सेवा सहकारी संस्थाले २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कैलाली जिल्लाको धनगढी स्थित नवजीवन सहकारी संस्था लिमिटेडलाई प्रदान गरेको छ । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुरयाएको भन्दै साझा सेवा सहकारी संस्थाले नवजीवन सहकारीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
साझा सेवा सहकारीको ३८ औं साधारण सभाको अवसरमा शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बमलाई नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् ।
५० हजार रुपैयाँको उक्त पुरस्कार साझा सवा सहकारीले २०७५ सालदेखि प्रदान गर्दै आएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रेग्मीले साझा सेवाले पुरस्कारको माध्यमबाट सहकारीको प्रवद्र्धनको कार्य गरेको उल्लेख गर्दै पुरस्कारले सहकारीहरुको उत्थान र विकासमा थप सहयोग तथा टेवा पुग्ने बताए ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले पुरस्कारका लागि उत्कृष्ट संस्था छनोट गरेको बताए ।
राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारा थामसुहाङ सुब्बाले नवजीवन सहकारीले सदस्यहहरुको जन्मदेखि मृत्युसम्मका सेवा प्रदान गरेर नेपालकै उत्कृष्ट संस्था बनेको बताईन । नवजीवन सहकारीले सदस्य सेवामा गरेका कामहरुबाट अन्य सहकारीले पनि सिक्नुपर्ने उनले बताईन ।
पुरस्कृत संस्था नवजीवनका अध्यक्ष देबबहादुर बमले यस पुरस्कारबाट सहकारी प्रतिको कर्तव्य र दायित्वलाई अघि बढाउन अझ बढी प्रेरणा प्राप्त भएको बताए । पुरस्कारले थप दायित्व समेत बढेको बताए ।