धनगढी पोष्ट
बिहिबार, २५ असार २०७७ मा प्रकाशित
धनगढी,
६ बर्षसम्म पुल नबनेपछि कारवाही गर्ने चेतावनी पाएको ठेकेदार कम्पनीले आफैले प्रतिवद्धता जनाएको जेठसम्म पनि नगरपालिका र धनगढी जोड्ने मोहना पुल निर्माण गर्ने गरेको छैन । बरु लकडाउन भन्दै पन्छिन खोजेको छ ।
पुल निर्माण गरिसक्नु पर्ने सम्झौता अनुसारको म्याद तेश्रो पटकसम्म थप्दा पनि पुल नबनाएको निर्माण कम्पनी एलाईड एड्भेन्चर जेभीले जेठ महिनासम्म पुल निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको थियो । तर चैत १० गते देखि कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनका कारण काम गर्न नसकेको भन्दै ठेकेदारले पुल निर्माण कार्यलाई फेरि धकेलेको छ ।
मोहना पुलले कञ्चनपुरको कृष्णपुर नगरपालिका ७, ८ र ९ नम्बर वडा वासी धनगढीसँग प्रत्यक्ष जोडिन्छन् । २०७१ जेठमा २ बर्ष भित्रै सम्पन्न गर्ने गरि एलाइड एडभेन्चर जेभीले मोहना नदीमा पुलको निर्माण थालेको थियो ।
दुई पटकसम्म थपिएको म्यादमा पुल नबनेपछि २०७६ असोजमा प्रशासनले एलाईडलाई कारवाही गर्ने चेतावनी दिएको थियो । कारवाहीबाट बच्न एलाइडले तत्काल जेठसम्म सक्ने वाचा गरे पनि पुलको काम भने गतिलो तरिकाले अघि बढ्न सकेको थिएन । यही बीचमा नेपालमा कोरोना महामारी फैलियो र सरकारले लकडाउन ग¥यो । एलाइडका लागि यही बहानाले पुल नबनाउने बाटो फेरी खुलेको छ ।
बर्षैदेखिको पुलमाथि हिड्ने कृष्णपुर नगरवासीको सपनालाई कुठाराघात गरी ठेक्दारले सरकारी ठेक्कालाई फेरी लम्ब्याएका छन् । ‘६ बर्ष सम्म बन्न नसेकेको पुलका लागि ठेकेदारले काम लम्ब्याउने बहाना पाए’ कृष्णपुर नगरपालिका–९ का स्थानीय हरी भुत्यालले भने– ‘अब पुलमा हिड्ने सपना देख्न छोडिसक्यौं, ज्यान जोखिममै पारेर डुङ्गामा हिड्नुको विकल्प छैन ।’
२०७१ मा सम्झौता अनुसार ८ करोड रुपैयाँ लागतमा निर्माण गर्ने गरी २ वर्षको अवधिमा पुल निर्माण गरिसक्नु पर्नेमा सो समयमा पुलको २० प्रतिशत मात्रै काम सम्पन्न भयो । त्यसपछि २ वर्ष समय थपिए पनि काम पुरा भएन । सडक डिभिजन कार्यालयले अन्तिम मौका दिएर २०७६ असार मसान्तसम्मका लागि दोश्रो पटक म्याद थप गरेपछि पुलको काम ५५ प्रतिशतमा सिमित बन्यो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख अर्जुन बमले कार्तिकदेखि पुलको दोश्रो स्पाम निर्माण थलेको ठेकदारले तेश्रो स्पाम निर्माण गर्न नसकेको बताए ।
डिभिजन प्रमुख बमका अनुसार ठेकेदारले जेठ मसान्तसम्म पुल निर्माण गरिसक्ने प्रतिबद्धता जनाए पनि लकडाउनको बहाना देखाएर काम रोकेको छ । उनले पुल निर्माणमा आनाकानी गरेको ठेकेदारलाई पुष महिनामा जरिवाना लगाए पनि सरकारको ९ औं संशोाधन पछि पुनः म्याद थप गरिएको बताए ।
‘काममा दवाव दिने उद्देश्यले निर्माण कम्पनिलाई दुई महिनाको जरिवाना समेत लगाएका थियौं’ डिभिजन प्रमुख बमले भने– ‘तर लकडाउनलाई बहाना देखाएर पुनः काम रोकिएको छ ।’ ‘हामीले मोहना पुललाई पहिलो प्राथमिकतामा राखेर ठेकदारलाई नियमित ताकेता गरिरहेका छौं’ डिभिजन प्रमुख बमले भने–‘माघ सम्म जसरी पनि काम सम्पन्न गर्नै पर्छ, लकडाउनलाई देखाएर पञ्छिने ठाउँ छैन ।’
एलाईड एडभेन्चर जेभीका इन्जिनियर दिनेश बटालाले जेठसम्म काम सक्ने तयारीमा जुटेको भए पनि लकडाउनका कारण काम रोकिएको बताए । पुलको तीन स्पाम मध्य दुई वटा निर्माण गरिसकिएको भन्दै उनले माघसम्म पुल निर्माण कार्य सम्पन्न गरिने बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने लकडाउनमा निर्माण व्यवसायीलाई काम गर्न नरोकेको भन्दै लकडाउनको बहाना बनाउन नमिल्ने बताए । ‘लकडाउन पछि मैले नै एलाइड कन्ट्रक्सनका प्रतिनिधीलाई बोलाएर काम नरोक्न निर्देशन दिएको थिएँ’ प्रजिअ बोहराले भने– ‘अहिले लकडाउनको बहाना बनाएर काम रोक्न मिल्दैन, आनाकानी गरे कारवाही हुन्छ ।’