धनगढी पोष्ट
बुधबार, १८ माघ २०७९ मा प्रकाशित
धनगढी । बझाङका तीन स्थानमा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा एक हजार ६ सय ३० जनाको निशुल्क आँखा परिक्षण गरिएको छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहको संयुक्त आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र देउलेक, जिल्ला अस्पताल चैनपुर र झोतामा आँखा शिविर सञ्चालन गरिएको थियो । आँखा शिविर माघ ७ गते देखि १६ गते सम्म सञ्चालन भएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापन रमेश चन्द्र भट्टले बताए ।
शिविरमा आँखा परिक्षण गरेका मध्य ४ सय ४३ जना मोतिविन्दु र दुई जना अन्य गरी ४ सय ४५ जनाको निःशुल्क शल्यक्रिया गरिएको बाह्य कार्यक्रम व्यवस्थापक भट्टले बताए । तीन वटा स्थानमा गरिएको निशुल्क शिविरमा १ हजार १ सय ८५ जनाको आँखामा विभिन्न समस्या देखिएको थियो । उनिहरुलाई समेत निःशुल्क औषधि प्रदान गरिएको भट्टले बताए ।
बाह्य कार्यक्तम व्यवस्थापक भट्टका अनुसार आँखा शिविरमा सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरु रहेका थिए ।
गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. अनिल गुरुङ्गको नेतृत्वमा संचालित उक्त शिविरहरुमा, १५ जनाको प्राविधि टोली सहभागि रहेको थियो । शिविरहरु संचालनमा सम्बन्धीत स्वास्थ्य केन्द्र तथा पालिकाका कर्मचारीले महत्वपुर्ण सहयोग गरेका थिए ।
सुदूरपश्चिम प्रदेशमा आँखाको उपचार सेवामा पहूँच बढाई अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले महेन्द्रनगर, टीकापुर र डडेल्धुरामा नेत्र विशेषज्ञ सेवा सहितको अस्पताल स्थापना गरि आँखा उपचार तथा अप्रेशन सेवा प्रदान गर्दै आएको छ ।
यसैगरी आँखा उपचार केन्द्र धनगढीमा हप्तामा एक पटक प्रत्येक बिहिवार र आँखा उपचार केन्द्र बेलौरीमा प्रत्येक महिनाको अन्तिम बुधवार महिनामा एक पटक गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट अप्रेशन सेवा प्रदान गर्दै आई रहेको छ । यस्का साथै प्रदेशका ९ वटै जिल्लामा स्थापना गरिएका आँखा उपचार केन्द्रहरुबाट आँखा उपचार सेवा प्रदान गरि रहेको तथा आँखा उपचार केन्द्रमा सेवा लिन आएका जटिल प्रकृतिका बिरामीहरुलाई टेलिमेडिसिन सेवा द्वारा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श तथा उपचार सेवा पनि प्रदान गरिदै आएको छ ।
गत वर्ष गेटा आँखा अस्पताल र अन्तरगतका शाखाहरु तथा शिविरबाट गरी दुइलाख ५१ हजार ८ सय ३१ जनालाई सेवा प्रदान गरेकोमा दुईलाख ४१ हजार ४१ जनालाई अप्रेशन सेवा प्रदान गरेको छ ।
गेटा आँखा अस्पतालले अस्पताल र शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।