धनगढी पोष्ट
बुधबार, २५ माघ २०७९ मा प्रकाशित
धनगढी । औषधी व्यवस्था विभाग नेपालगञ्जको नेतृत्वमा गरिएको औषधी पसलको अनुगमनका क्रममा धनगढीका दुई वटा मेडिकलमा सिल गरिएको छ ।
बुधबार धनगढी बजारका दुई वटा मेडिकल दर्ता नभएका, सिफासिमा नपरेका औषधी बेच्ने गरेको लगायतका कैफियत भेटिएपछि अनुगमन टोलीले ती मेडिकल सिल गरेको हो ।
औषधी व्यवस्था विभाग नेपालगञ्जका फारर्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार शाहका अनुसार धनगढी उप महानगरपालिका–७ स्थित जेपी क्लिनिक र सो वडाको एस.आर पाराक्लिनिकलाई सिल गरिएको हो । शाहका अनुसार जेपी क्लिनिक दर्ता नै नगरेको पाइएको र एस.आर पाराक्लिनिले दर्ता नगरिएको र सिफारिस नगरिएका औषधी बेच्ने गरेको भेटिएकाले सिल गरिएको हो ।
औषधी व्यवस्था विभागका प्रतिनिधि शाह सहित जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत रविन्द्र ओखेडा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी र स्थानीयको रोहबरमा क्लिनिकहरु सिल गरिएका हुन् ।
यसैगरी अनुगमन समितिले धनगढीका अन्य दुई वटा मेसिडकलमा म्याद नाघेका औषधी र बेच्न सिफारिस नभएका औषधीको बिक्री वितरण गर्ने गरेको भेटिएकाले ती मेडिकलमाथि पनि कारवाहीको प्रक्रिया अघि बढाएको छ ।
फारर्मेसी अधिकृत निरीक्षक शाहले अनुगमन गर्दा कमजोरी भेटिएका दुई वटा मेडिकल सञ्चालकलाई बयान दिनका लागि नेपालगञ्ज कार्यालय बोलाइएको बताए । उनका अनुसार बयानका लागि बोलाइएका मेडिकल सञ्चालकले दिएको बयानका आधारमा बाँकी प्रक्रिया अघि बढाइने छ ।
सिल गरिएका क्लिनिकका हकमा भने आवश्यक जरिवाना तिरेर कानूनी प्रक्रिया पुरा गरेपछि मात्रै सञ्चालनको अनुमति दिइने निरिक्षक शाहले बताए । ‘दुई वटा मेडिकललाई बयान दिएर आफ्नो मेडिकलको बारेमा जानकारी दिने मौका दिएका छौं,’ शाहले भने, ‘उनीहरुको बयानका आधारमा के गर्ने भन्ने निर्णय होला । तर सिल गरिएका मेडिकलको हकमा भने कानून अनुसार कारवाही अघि बढ्ने छ ।’