धनगढी पोष्ट
बिहिबार, २६ माघ २०७९ मा प्रकाशित
धनगढी । मुख्यमन्त्रीको दावी पेश गर्ने बेलामा समर्थन जनाएका नागरिक उन्मुक्ति पार्टीका सांसदहरुको सहयोग नपाउँदा सुदुरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले तीस दिनमै पद गुमाएका छन् ।
मुख्यमन्त्री रावलले बिहीवार प्रदेश सभामा बिश्वासको मत मागे पनि उन्मुक्तिका सांसदहरु अनुपस्थित रहेपछि बिश्वासको मत पाउन सकेनन् । पुस २७ गते चार दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलको बिहीवार बिश्वासको मत लिने अन्तिम दिन थियो । बिश्वासको मत नपाएपछि रावलले प्रदेश सभामा सवोधन गरेका लगत्तै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका थिए ।
मुख्यमन्त्रीबाट राजिनामा बुझाएपछि आफुले प्रयोग गरेको सरकारी गाडी पनि प्रदेश प्रमुखको कार्यालयमै छोडेर रावल निजी सवारीमा बाहिरिएका थिए ।
नागरिक उन्मुक्तिका माग सम्वोधन गर्ने प्रतिवद्धता संघीय सरकारबाट नै व्यक्त भए पनि नागरिक उन्मुक्तिले अन्तिम समयमा धोका दिएका रावलले बताए । ‘वहाँहरुका थुप्रै माग थिए । ती मागहरु केन्द्रबाट र प्रदेशबाट पुरा गर्ने प्रतिवद्धता पनि भएको थियो’ प्रदेश प्रमुखको कार्याल ययमा राजीनामा बुझाइसकेपछि रावलले भने ‘बिश्वासको मत दिने आश्वासन थियो, तर अन्तिम समयमा धोका भयो ।’
‘हिजो म ४ दलका २९ प्रदेश सभा सदस्यको लिखित समर्थनमा मुख्यमन्त्री बनेको थिएं’ रावलले भने, ‘आज ती मध्यको एउटा दलले विश्वासको मत नदिएपछि म बाहिरिएको छु, मुख्यमन्त्रीबाट बाहिरिए पनि प्रदेशको सम्वृद्धि र जनताको सेवामा लागि रहनेछु ।’
रावलले नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्तिका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ गरेर २९ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर नागरिक उन्मुक्तिका सांसदहरु प्रदेश सभामा उपस्थित नभएपछि रावललाई बिश्वासका लागि आवश्यक मत पुगेन । ५३ सदस्यीय सुदुरपश्चिम प्रदेश सभामा बिश्वासको मतका लागि २७ प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ ।
केही दिनदेखि नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौं आएर बसेका थिए । बिहीबार बिहान ७ सांसदसँगको तस्बिर राख्दै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आत्मसमर्पण नगर्ने बताएकी थिइन् ।
नागरिक उन्मुक्तिले टीकापुर घटनाको मुद्धामा रेशम चौधरी सहितका कारागारमा रहेकाहरुको रिहाई गर्नु पर्ने सहितका माग पुरा गर्न सकिने शर्त राखेका थिए । एमाले र माओवादीले ती शर्त मान्न सहमति पनि जनाएका हुन् । तर तत्कालै माग पुरा गर्न लिखित प्रतिवद्धता र प्रकृया शुरु गर्नु पर्ने माग सम्वोधन नभएको उन्मुक्तिको भनाई छ । काठमाण्डौमा कारागारमा रहेका नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले नै दलहरुसँग वार्ता गरेका थिए । आफ्ना माग पुरा नभए बिश्वासको मत नदिने अडान शुरुदेखि नै लिएको उन्मुक्तिका सातै जना प्रदेश सभा सदस्यहरु पनिबिगत केही दिनदेखि काठमाण्डौंमा नै छन् । सरकारसँग मागबारे सहमति नजुटेपछि उनीहरु बिहीवार धनगढी पनि आएनन् ।
रावलले मुख्यमन्त्रीबाट बाहिरिए पनि एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको हैसियतले सदनमा रचनात्मक भुमिका खेल्ने बताए । ‘धुलो टक्टक्याएर फेरी पनि उभिने छु,’ उनले भने, ‘राजनीति मेरो पेशा हो, हरेश खादैन, जन सेवामा तल्लिन रहिरहने नै छु, प्रदेश सभामा पनि रचनात्मक भुमिकामा प्रस्तुत हुने छु ।’
रावलले बिश्वासको मत नपाएका कारण एक महिनासम्म मन्त्रीमण्डललाई पुर्णता दिएका थिएनन् । शपथ लिएकै दिन खगराज भट्ट सन्तोष थापा शर्मालाई बिना बिभागीय मन्त्रीमा नियुक्त गरेका थिए । समर्थन गर्ने सबै दललाई समेट्नु पर्ने भन्दै उनले बिगत एक महिनासम्म भट्ट र शर्मालाई जिम्मेवारी नै तोकेनन् । रावललेसबै मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका थिए ।