धनगढी पोष्ट
शुक्रबार, २७ माघ २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कमल शाहले आज पद तथा गोपनियताको सपथ लग्ने भएका छन् ।
मुख्यमन्त्री शाहलाई शुक्रवार साढे तीन बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
एक महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले बिहीवार बसेको प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा बिहीबार साँझ नियुक्त भएका थिए ।
निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएर पद गुमाउँदै राजीनामा दिएपछि काँग्रेस संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधान धारा १६८ को उपधारा २ बमोजिम नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेसमा प्रदेश संसदीय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन् ।