धनगढी पोष्ट
आइतबार, २९ माघ २०७९ मा प्रकाशित
धनगढी । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले जेलमा रहेका रेशम चौधरीलाई रिहाई गर्नु पर्ने बताएका छन् ।
उनले लामो समय सम्म जेलमा राखिराख्न नहुने भन्दै सरकारलाई रेशम चौधरीलाई रिहाई गर्न आग्रह गरे । आईतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पुर्ब प्रधानमन्त्री समेत रहेका नेपालले भने–‘रेशम चौधरीलाई रिहाई गर्न आवश्यक छ, रिहाईका लागि सरकार संग माग गर्दर्छौ ।’ उनले राष्ट्रपति सबैको सहमतीमा चयन हुने बताए ।
नेता नेपालले भने–‘अहिलेको सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपतिका लागि साझा ब्यक्ति भनिरहेकाले सहमतिमा राष्ट्रपति चयन हुन्छ ।’
सुदूरपश्चिम प्रदेशको सरकार परिबर्तनबारे नेता नेपालले भने–‘एकिकृत समाजवादी को हो भन्ने यहाँबाट सुरु भएको छ, समयमै सचेत नबने यसको असर देशभर देखिने छ ।’ अध्यक्ष नेपालले भने–‘सबैको ध्यानाकर्षण होस हामी पनि कोही हौं ।’ उनले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसले सबैलाई समेटेर अघि बढनु पर्ने बताउँदै यस सरकारले बिश्वासको मत प्राप्त गर्ने उल्लेख गरे ।
एमाले प्रति लक्षित गर्दै पुर्व प्रधानमन्त्री नेपालले भने–‘गलत चिन्तन वोकेका पार्टीहरुले आफुलाई सुधारे हामी जो संग पनि एकता गर्न तयार छौं ।’ उनले एकताका लागि बिचार मिलेर मात्र नहुने त्यसका लागि मन पनि मिल्नु पर्ने बताए ।
उनले आफ्नो पार्टीले नेपालको राजनितिमा महत्वपुर्ण भुमिका निर्वाह गरेकाले अलग्गै पहिचान रहेको बताए ।