धनगढी पोष्ट
बिहिबार, २१ बैशाख २०८० मा प्रकाशित
धनगढी । यार्सा संकलनमा गएका वेला आएको हिमपहिरोमा परेर वेपत्ता भएका ५ जना मध्य दुई जना अझै फेला परेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार वेपत्ता भएका डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापा बिहीबार सम्म पनि फेला परेका छैनन् । उनीहरुको खोजीका लागि बिहीबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक तर्कराज पाण्डेयले बताए ।
मंगलबार गएको हिमपहिरोमा परेर वेपत्ता भएका तीन जनको भने बुधबार शव भेटिएको थियो । मृत अवस्थामा फेला पर्नेमा दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापा रहेका छन् ।
मृतक तीनै जनालाई आज (बिहीबार) जिल्ला अस्पताल ल्याइएको प्रहरी प्रमुख पाण्डेयले बताए । मंगलबार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए । सोही टेन्टमा बस्ने अन्य ७ जना भने हिमपहिरोबाट जोगिएका छन् । हिमपहिरो जाँदा उनिहर टेन्ट बाहिर दाउरा संकलनमा गएका कारण उनिहरु जोगिएका हुन् ।