धनगढी पोष्ट
शुक्रबार, २२ बैशाख २०८० मा प्रकाशित
धनगढी । उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको २५ औं स्थापना दिवस तथा रजत जयन्ती बिहीवार शुभारम्भ भएको छ । रजत जयन्ती शुभारम्भका अवसरमा शेयर सदस्य केन्द्रित विविध कार्यक्रमहरु भएका छन् ।
रजत जयन्तीको अवसरमा महिला तथा बृद्ध सेवा केन्द्र महेन्द्रनगर र बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र वेदकोटलाई चामल, दाल, तेल, तरकारी, पीठो र फलफुल प्रदान गरिएको छ ।
शेयर सदस्य केन्द्रित सामाजिक काम गर्ने क्रममा दोधारमा रहेको सेफ हाउसलाई पंखा प्रदान गरिएको, बेलौरीमा पाठेघरको अप्रेसन गरेकी शेयर सदस्यलाई ५ हजार प्रदान गरिएको उदयदेव सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताए ।
त्यस्तै अत्तरियामा सदस्यहरुलाई प्रविधिसँग जोड्न अटोरिक्सा चालकहरुलाई क्युआर कोड प्रदान गरिएको छ ।
रजत जयन्तीका कार्यक्रमहरु बर्षभरि नै संचालन गरिने प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । “सदस्य केन्द्रित सेवा प्रदान गर्ने र सामाजिक काम रजत जयन्ती बर्षभरि नै गर्छौ ।” चन्दले भने “आज शुरुआत भएको हो । सेवा केन्द्र स्तरमा नै अझै बढी सामाजिक काम गर्छौ ।”
प्रमुख कार्यकारी अधिकृत चन्दका अनुसार रजत जयन्ती बर्षमा एकल महिलाहरुलाई सहुलियत कर्जा प्रदान गरिने, शेयर सदस्यका पाँच छोराछोरीलाई जेटीए अध्ययनको छात्रबृत्ति प्रदान गरिने छ ।