धनगढी पोष्ट
बिहिबार, ११ जेठ २०८० मा प्रकाशित
धनगढी । बजेट विनियोजनका पालिका अध्यक्षले मनोमानी गरेको भन्दै कैलालरी गाउँपालिका बिरुद्ध सोही पालिकाका वडा अध्यक्ष आन्दोलनमा उत्रेका छन् ।
पालिका अध्यक्ष राजसमझ चौधरीले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट बाँडफाड तथा योजना तय गर्दा वडा अध्यक्षले दिएका योजना नसमेटेको र मनमानी गरेको भन्दै कैलालीमा केही वडा अध्यक्ष र नेपाली कांग्रेसका युवाले कार्यालय अगाडी नारावाजी गरेका थिए । उनिहरुले कार्यालयमा नाराबाजी गर्नुका साथै पालिका कार्यालय कार्यलय घेराउ गरेका हुन् । कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकामा केही वडाध्यक्ष सहित कांग्रेसकै असन्तुष्ट पक्षहरुले नाराबाजी गरेका हुन् । बजेट विनियोजनमा अध्यक्ष रामसमझ चौधरीले मनलाग्दी गरेको उनिहरुको आरोप छ ।
त्यसका साथै गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेकाले गाउँपालिकामा नाराबाजीका साथै कार्यालय घेराउ गरिएको गाउँपालिकाको –६ कावडाध्यक्ष प्रेमबहादुर चौधरीले बताए । पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने माग राखेको चौधरीको भनाइ छ ।
असन्तुष्ट समूहको नेतृत्व पालिका प्रवक्ता समेत रहेका वडा नंम्बर– ७ का वडाध्यक्ष दीपेन्द्र बमले गरेको बताइएको छ । तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ ।