धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

तराईका जिल्लामा ‘लू’को खतरा, सतर्कता अपनाउन आग्रह

तराईका जिल्लामा ‘लू’को खतरा, सतर्कता अपनाउन आग्रह


धनगढी । तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले लू को खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ ।
विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मध्य तराईका जिल्लामा ५ दिनसम्म तातो हावा अर्थात लू चल्ने खतरा छ । ‘खासगरी मध्य तराई र आसपास जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । त्यसकारण सतर्क रहन जुरूरी छ ।’ उनले भनिन् ।
गर्मी बढी हुँदा तातो हावा चल्ने र लू लाग्ने सम्भावना बढी हुने हुँदा यस्तो सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
पछिल्लो ५ दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लागेकाले अधिकतम तापक्रम बढेकाले बढी गर्मी महसुस भएको मानन्धरले जानकारी दिइन् । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । साथै पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको उनको भनाइ छ ।
उनले भनिन्, ‘देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय (प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय) भएकाले अझै केही दिन वर्षा हुँदैन ।’
उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन् । उनका अनुसार मनसुन नभित्रिएसम्म  अर्थात असारको पहिलो सातासम्म तापक्रम केही दिन बढ्ने देखिन्छ । मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने केही दिनमा छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् ।