धनगढी पोष्ट
आइतबार, २१ जेठ २०८० मा प्रकाशित
धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा धर्ना दिइएको छ ।
सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि आन्दोलित भएको संघर्ष समितिले धर्ना दिएको हो ।
संघर्ष समितिले बिहान १० बजेर ४० मिनेटदेखि आधा घण्टा प्रशासनको मूल गेट अगाडि धर्ना दिएको हो । संघर्ष समितिले सरकारले २९ माघमा मन्त्रिपरिषद् बैठकबाट गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनी गरिएको निर्णय कार्यान्वयन गर्न माग गरेको छ ।
सरकारले गरेको उक्त निर्णय कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताए । संघर्ष समितिका सहसंयोजक आन्नद भट्टकाअनुसार आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार धनगढीमा सडक बहस कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा कैलालीमा क्रियाशील सबै राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिसँग मेडिकल विश्वविद्यालयका सम्बन्धमा अन्तर संवाद गरिने भट्टले जानकारी दिए । संघर्ष समितिले यसअघि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ भने अत्तरियामा सडक बहस लगायतका दबाबमुलक कार्यक्रम गरेको छ ।