तराईमा मंगलबार देखि गर्मि कम हुने अनुमान

तराईमा मंगलबार देखि गर्मि कम हुने अनुमान

धनगढी । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मंगलबार देखि गर्मि कम हुने अनुमान गरिएको छ । 
मंगलबार देखि सुदूरपश्चिममा मनसुनी वायु भित्रिने र फाटफुट बर्षाको सम्भावना रहेका कारण तराईमा गर्मिको कम हुने मौसमविदले जनाएका छन् ।
जल तथा मौसम पुर्वानुमान महाँशाखाका अनुसार कैलाली कञ्चनपुरमा आइतबार अत्याधिक गर्मि कायमै रहने छ । सोमबार देखि फाटफुट बदली हुने र केही कम गर्मी हुने अनुमान गरिएको छ । तर सोमबार बर्षाको संभावना नरहेका कारण गर्मिबाट धेरै राहत भने नहुने मौसमविद सञ्जिव अधिकारीको भनाई छ । 
‘हाल देशको मध्य भाग सम्म फैलिएको मौसमी प्रणाली मंगलबार सम्म सुदूरपश्चिममा प्रवेस गर्न सक्ने अनुमान गरिएको छ,’ मौसमविद अधिकारीले भने, ‘सो मौसमी प्रणाली मंगलबार सम्म सुदूरपश्चिममा पुग्नसक्ने अनुमान गरिएको छ, मनसुनसंगै हुने बर्षाले गर्मिपनि केही कम हुनेछ ।’ सुदूरपश्चिममा बुधबारदेखि भने आंसिक पुर्ण बर्षाको सम्भावना रहेको छ ।
पछिल्लो केहीदिन यता भारतमा नयाँ मौसमी प्रणाली विकसित भइरहेको भन्दै उनले सो मौसमी प्रणालीको प्रभावका कारण पनि सुदूरपश्चिममा बर्षाको संभावना हुने छ । तर सो प्रणाली प्रत्यक्षरुपमा नेपालमा भने नभित्रिने उनले बताए ।
मौसमविद अधिकारीका अनुसार हाल सुदूरपश्चिममा कम्जोर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा भने फाटफुट बर्षा भइरहेको छ । तर स्थानीय वायुका कारण तराईमा बर्षा हुन सकेको छैन ।