धनगढी पोष्ट
मङ्गलबार, ०५ असार २०८० मा प्रकाशित
धनगढी । सवारी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । सोही सवारी दुर्घटनामा परी मन्त्रीकी श्रीमति अमृता सिंह र उनकी भाउजु जयादेवि सिंहको पनि मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए । मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।
मन्त्री सिंह सवार रहेको सु प्र प ०१००१झ ४८० न को गाडी बझाङको बागथलामा नजिकै दुर्घटना भएको थियो । डेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।