धनगढी पोष्ट
बिहिबार, ०७ असार २०८० मा प्रकाशित
धनगढी । बिहीबार बिहान परेको चट्याङका कारण दार्चुलामा एक जना महिला घाइते भएकी छिन् । दार्चुलाको महाकाली नगरपालिका–९ थाप्लाका नरेशसिंह धामीको घरमा चट्याङ पर्दा उनको श्रीमती २८ वर्षीया कौशादेवी धामी घाइते भएकी हुन् ।
कौशादेवीको दाहिने हात र खुट्टा झमझमाई रहेपछि उनलाई उपचारका लागी थाप्ला स्वास्थ्य चौकीमा लगिएको प्रहरीले बताएको छ । बिहीबार बिहान धामीको घरमा चट्याङ परेको हो ।
यस्तै उनको गोठभित्र रहेको एक भैंसीको मृत्यु भएको छ । यस्तै बैतडी प्रहरीका अनुसार बुधबार राति बैतडीको पुर्चौंडी नगरपालिका–१ कनेडापानीका प्रेमसिंह भण्डारीको घरनजिकै रहेको विद्युतको तारमा चट्याङ परेको छ । उनको गोठमा बाँधेका २ वटा भैंसी एउटा बाख्राको मृत्यु भएको छ । चट्याङबाट दुईवटा मोबाईल, विद्युतको मिटर बक्स र भण्डारीको घरको वाईरिङ तार जलेर नष्ट भएको छ ।