धनगढी पोष्ट
आइतबार, २४ असार २०८० मा प्रकाशित
धनगढी । स्थानीय तहले दरवन्दि बाहेकका कर्मचारी फिर्ता पठाउने निर्णय गरेपछि कैलाली, कञ्चनपुरका स्वास्थ्यकर्मीले त्यसको बिरोध गरेका छन् ।
आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाउँदै स्वास्थ्यकर्मीले हाल कार्यरत रहेकै स्थानमा तलबभत्ताको व्यवस्थापन गर्न माग गरेका छन् । अन्यथा स्वास्थ्यका सवै सेवा बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी समेत स्वास्थ्यकर्मीले दिएका छन् ।
कर्मचारी समायोजन ऐन २०७५ तथा स्वास्थ्यकर्मी समायोजन मिलान मापदण्ड २०७७ अनुसार कोभीडको समय देखिनै कैलाली, कञ्चनपुरका स्थानीय तहमा स्वास्थ्य कर्मचारी कार्यरत रहेको भन्दै अहिले आफ्नो व्यवस्था आफैगर भनेर गैर जिम्मेवार कुरा गरेको प्रति स्वास्थ्यकर्मीले आपत्ती जनाएका छन् । ‘कोभीड–१९को महामारीमा स्वास्थ्यकर्मीले दिनरात नभनि स्थानीय तहमा काम गरेका थिए,’ ज्ञापन पत्रमा भनिएको छ, अहिले गैर जिम्मेवार तरिकाले आफ्नो व्यवस्था आफैगर भन्दै स्थानीय तहले विभेद गरेको छ, हामीलाई विगतमा पनि सेवा सुविधामा विभेद गरिंदै आएकोमा थप विभेदमा पार्नेकाम नहोस्, हाल कार्यरत रहेकै स्थानमा तलबभत्ताको वयवस्थापन गरियोस् ।’
शनिबार कैलाली, कञ्चनपुरका स्थानीय तहले दरवन्दि बाहेकका कर्मचारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेका थिए ।