धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

महाकाली नदीमा पानीको वहाव बढ्दै, सत्रक रहन प्रशासनको आग्रह

महाकाली नदीमा पानीको वहाव बढ्दै, सत्रक रहन प्रशासनको आग्रह

धनगढी । भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकाली नदीमा पानीको वहाव बढेको छ ।
मंगलबार बिहान ५ बजे खोलिएको बाँध खुला रहने हुँदा त्यसपछि पनि केही समय महाकाली नदी आसपास क्षेत्रमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए । बाँधको ढोका खोलिएका कारण महाकाली नदीमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन तटिय क्षेत्रका नागरिकलाई आग्रह गरिएको उनले बताए ।
महाकाली नदीमा पानीको सतह बढ्दा स्थानीयवासी त्रसित भएका छन् । सदरमुकाम खलङ्गाको रिङ्गलताल क्षेत्रमा तटबन्धको माथिल्लो भागमा पानीको बहाव पुगेपछि घर नै बगाउने हो कि भन्ने चिन्ता बढेको स्थानीय सगुन बोहराले बताए । भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि महाकालीमा बाढी आएको छ । बाढीका कारण बैतडी र दार्चुलामा क्षति पुग्ने सम्भावना देखिएपछि उच्च सतर्कता अपनाइएको छ ।