धनगढी पोष्ट
मङ्गलबार, ०२ साउन २०८० मा प्रकाशित
पोष्ट संवाददाता
धनगढी । बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीको एक सय मिटर वरपर मध्यपान गरे ५ हजार सम्म जरिवाना गरिने भएको छ । पञ्चेश्वर गाउँपालिका – १ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीको व्यवस्थापन समितिको बैठकले धुम्रपान, मध्यपान गर्ने, स्वास्थ्यकर्मी र संस्थाको सुरक्षामा असर पर्ने काम गरे कारवाही हुने निर्णय गरेको हो ।
स्वास्थ्य संस्था प्रमुख सुरेश सार्कीद्धारा हस्ताक्षरित सूचनामा स्वास्थ्य चौकीको १०० मिटर वरपर धुम्रपान गरे सुर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार १०० सय जरिवाना हुने उल्लेख छ । यस्तै स्वास्थ्य संस्थाको १०० मिटर वरपर मध्यपान गरे पहिलो पटकमा १ हजार, दोस्रो पटकमा २ हजार ५ सय र तेस्रो पटक ५ हजार जरिवाना हुने उल्लेख छ ।
स्वास्थ्यकर्मी र संस्थाको सुरक्षामा असर पर्ने कार्य गरेमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संसोधन अध्यादेश २०६८ मा उल्लेख भए बमोजिमको सजाय हुने सूचनामा उल्लेख छ ।