धनगढी पोष्ट
बिहिबार, ०४ साउन २०८० मा प्रकाशित
धनगढी । दरवन्दि बाहेकका कर्मचारी फिर्ता पठाउने निर्णय पछि धनगढीका वडा स्वास्थ्य क्लिनिक स्वास्थ्यकर्मी बिहीन बन्न थालेका छन् । यस अघि धनगढीका १९ वटै वडा स्वास्थ्य क्लिनिकमा कम्तिमा तीन जना सम्म स्वास्थ्य कर्मचारी कार्यरत रहेकोमा उप महानगरले दर वन्दि बाहेकका कर्मचारी फिर्ता पठाउने निर्णय गरेपछि भने अधिकांस वडा क्लिनिकमा एक जना मात्रै कर्मचारी काम गरिरहेका छन् ।
जसका कारण वडा स्वास्थ्य क्लिनिकबाट दिइने सेवा प्रभावित भएको धनगढी उप महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी बताउँछन् । ‘एउटा वडामा कम्तिमा पनि तीन जना सम्म स्वास्थ्य कर्मचारी हुँदा वडा वासीलाई आधारभुत स्वास्थ्य सेवा दिन सकिएको थियो,’ स्वास्थ्य शाखा प्रमुख अवस्थीले भने, ‘तर अहिले वडा स्वास्थ्यसेवा लगभग बन्द जस्तै अवस्थामा पुगेको छ, धेरै वडामा एक जना मात्रै कर्मचारीले काम गरिरहेका छन् ।’ स्वास्थ्य मापदण्ड अनुसार ५ हजार नागरिक बराबर एक जना स्वास्थयकर्मी उपलब्ध हुनुपर्ने व्यवस्था रहेको उनले बताए ।
सो मापदण्ड अनुसार धनगढीका हरेक वडा स्वास्थ्य क्लिनिकमा ९–१० जना सम्म स्वास्थ्य कर्मचारी आवश्यक पर्ने देखिएको उनले बताए । ‘धनगढीका हरेक वडामा कम्तिमा ९ देखि १० जना सम्म स्वास्थ्यकर्मी आवश्यक पर्ने देखिएको छ,’ उनले भने, ‘तर अहिले धेरै वडा स्वास्थ्य क्लिनिकमा एक जना मात्रै स्वास्थ्य कर्मचारी कार्यरत रहेका छन्, एक जनामात्रै हुनु भनेको स्वास्थ्यसेवा बन्द हुनु जस्तै हो ।’
उपमहानगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, १५ र १६ वडामा रहेको स्वास्थ्य चौकीमा दुई÷दुई जना, वडा नम्बर ९ को स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मी छन भने अन्य ११ वटा वडा एक जना स्वास्थ्यकर्मीको भरमा सञ्चालन भइरहेका छन् ।