धनगढी पोष्ट
शुक्रबार, ०५ साउन २०८० मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको काजका कर्मचारी फिर्ताको परिपत्रलाई आधार मानेर स्वास्थ्यका कर्मचारीहरुलाई साउन बिगत पाँच दिनदेखि हाजिर गर्न दिएको छैन ।
मन्त्रालयको निर्णय काजमा रहेका कर्मचारीहरुको लागि भएको तर आफुहरु कर्मचारी समायोजन र मिलानका आएकाले आफुहरुका लागि उक्त निर्णय लागु नहुने भन्दै धनगढीका स्वास्थ्यका कर्मचारीहरुले काज फिर्ताको पत्र बुझेका छैनन् । उनीहरु उमहानगरपालिकाको निर्णयको बिरोधमा उपमहानगरपालिकामा धर्नामा बसेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार ४ गते स्थानीय तहलाई दरवन्दि बाहेकका कर्मचारीको तलव भत्ता र सेवा सुविधाको जिम्मा स्वय स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने वा काज फिर्ता गर्नु पर्ने भन्दै देशभरका सवै पालिकालाई परिपत्र जारी गरेको थियो ।
मन्त्रालयले गरेको परिपत्रमा यसपुर्व पालिकाहरुबाट सहमति पत्रमा पद रिक्त छ, तलब भुक्तानी हुनेछ, सरुवा, कामकाज गर्न खटाइदिनु भन्ने व्यहोरा लेखि आएको आधारमा मन्त्रालयले कामकाज गर्न खटाउने गरेकोमा अर्थ मन्त्रालयले आव २०८०।८१ देखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलबभत्ता दिन नसकिने खुलाएकोले स्थानीय तह आफैले आवश्यकता हेरि यस सम्वन्धमा व्यवस्था गर्न भनेको छ ।
स्थानीय तहहरुको दोहोरो सहमति÷सिफारिशका आधारमा यस पुर्व कामकाजमा खटाउने गरिएकोमा यसले दरबन्दी भएका दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरु खाली हुने तर शहरी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी भएका कारण केही स्थानीय तहका कर्मचारीले तलब भत्ता पाउन बाकी रहेको भनेर आइरहेको गुनासोलाई व्यवस्थित गर्न मन्त्रीस्तरिय निर्णय भएको परिपत्रमा उल्लेख छ ।