धनगढी पोष्ट
आइतबार, ०७ साउन २०८० मा प्रकाशित
धनगढी । उदयदेव बहुउदेश्यीय सहकारीले आफ्नै ब्राण्डमा चामल बजारमा ल्याउने भएको छ । सहकारीको सहयोगमा किसानहरुले उत्पादन गरेको धानको बजार र मुल्य सुनिश्चित गर्न उदयदेवले चामल ब्राण्डिङ गर्न लागेको हो ।
सदस्यहरुको सहभागितामा धानको बीउको ब्राण्डिङपछि उदयदेव सहकारी चामल पनि आफ्नै ब्राण्डमा बजारमा ल्याउन लागेको हो ।
“अब उदयदेवकै ब्राण्डमा चामल बजारमा ल्याउँदैछौं ।” उदयदेव सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले भने “चामल बजारमा ल्याउनका लागि अहिले तयारी भैरहेको छ । अहिले लगाएको धान उत्पादन भएपछि चामल बजारमा आउनेछ ।”
सदस्य किसनाहरुले उत्पादन गरेको धान खरिद गरेर प्रशोधनपछि उदयदेवले बजारमा ल्याउनेछ ।
कन्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको उदयदेव सहकारीले चामलको ब्राण्डिङ गर्नकै लागि भीमदत्त नगरपालिकाको वार्ड नम्बर १९ बागफाटामा राइस मिल संचालनमा ल्याएको छ । ३७ लाखको लागतमा निर्माण गरिएको मिलको हालै उद्घाटन पनि भैसकेको छ ।
“हामीले सदस्य किसानहरु मध्य केहीलाई बीउ उत्पादनमा जोडेका छौं ।” प्रमुख कार्यकारी अधिकृत चन्दले भने “बीउ उत्पादनमा नजोडिएका सदस्य किसानहरुलाई बजार कहाँ पाउने भन्ने समस्या थियो । त्यसलाई सम्वोधन गर्न आफनै चामल ब्राण्डिङ गर्न लागेका छौं ।”
कृषि उत्पादन बढाउन उदयदेव सहकारीले किसानहरुलाई सुपथ मुल्यमा कृषि औजार, मल र बीउ उपलव्ध गराउँदै आएको छ । किसानहरुलाई धान खेती गर्न लगाएर उदयदेव सहकारीले धानको बीउ उत्पादन गरेर किसानहरुलाई सहज मुल्यमा उपलव्ध गराउँदै आएको छ ।
किसानहरुले उत्पादन गरेको धानको उचित मुल्य नपाइरहेकोले सदस्यहरुबाट धान खरिद गरेर बिक्री गरिन लागेको प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । “सहकारीको सहयोगमा सदस्य किसानहरुले धानको मुल्य नपाउने समस्या बिगतदेखिकै छ ।” प्रमुख कार्यकारी अधिकृत चन्दले “त्यसैले सहकारीले सहज मुल्यमा उपलव्ध गराएका कृषि सामाग्रीहरुको उपयोग गरेर उत्पादन भएको धानको उचित मुल्य पनि दिलाउन धान आफै खरिद गरेर चामल बजारमा ल्याउन लागेका छौं ।”
प्रमुख कार्यकारी अधिकृत चन्दका सदस्य किसानहरुबाट बजार मुल्य भन्दा दश प्रतिशत बढीमा धान खरिद गरिने छ
उदयदेव सहकारीले सदस्य किसानहरुलाई जेटीए मार्फत निःशुल्क प्राविधिक सल्लाह उपलव्ध गराउँदै आएको छ । सदस्यहरुलाई उपलव्ध गराउदै आएको कृषि प्राविधिक सेवालाई थप प्रभावकारी बनाउन सदस्यका तीन छोराछोरीलाई जेटीए अध्ययनका लागि ५० प्रतिशत छात्रबृत्ति उपलव्ध गराउन थालेको छ ।
उदयदेव सहकारीले सदस्यहरुmलाई बीउ धान उत्पादनमा सहयोग गरेर आफ्नै ब्राण्डमा धानको बीउ उत्पादन गर्दै आएको छ । धानको बीउ सदस्यहरुलाई सहज मुल्यमा उपलव्ध गराउँदै पनि आएको छ ।