धनगढी पोष्ट
बुधबार, १० साउन २०८० मा प्रकाशित
धनगढी । सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने ७९ उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजनिक नगर्नेमा ३७ जना प्रतिनिधिसभा सदस्य पदका र ४२ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार छन् । कानुन बमोजिम खर्च विवरण सार्वजनिक नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।
तर त्यसका लागि आयोगले निर्णय गर्नुपर्ने छ । खर्च विवरण सार्वजनिक नगर्नेमा निर्वाचित जनप्रतिनिधि तथा प्रमुख राजनीतिक दलका पदाधिकारी तथा चर्चित अनुहारसमेत रहेको आयोगले जनाएको छ । सुदूरपश्चिममा १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् ।
प्रतिनिधि सभा सदस्यका लागि कुल एक सय ३७ उम्मेदवारमध्ये एक सय जना उम्मेदवारले मात्र खर्च सार्वजनिक भएको छ । बाँकी ३७ उम्मेदवारको अझै सार्वजनिक भएको छैन् । सुदूरपश्चिममा ३२ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र छन् ।