धनगढी पोष्ट
आइतबार, २८ साउन २०८० मा प्रकाशित
धनगढी । वडा अध्यक्ष माथी हात पात गरेको आरोपमा कञ्चनपुरका ८ जना बिरुद्ध उजुरी परेको छ । भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटालाई कुटेको भन्दै ८ जनाविरुद्ध उजुरी दर्ता भएको हो । राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण वडाध्यक्ष देवकोटामाथि कुटपिट भएपछि ८ जनाविरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले बताए ।
देवकोटाको पक्षबाट ८ जनाविरुद्ध उजुरी आएको र उनीहरुको खोजी सुरु गरिएको बताए।उनका अनुसार युवा संघको जिल्ला अधिवेशनमा लफडा भएपछि कुटपिट हुँदा देवकोटाको टाउकोमा चोट लागेको छ । राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशन निर्वाचन संघको जिल्ला समितिको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा संघका नेता तथा कार्यकर्ताले टाउकोमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
देवकोटाले युवा संघका लेखा आयोगका केन्द्रीय सचिव प्रविन बोगटी, एमाले जिल्ला कमिटी सदस्य कमल रोकाया, युवा संघका केन्द्रीय सदस्य रोहितजङ्ग कुँबर, संघको जिल्ला अध्यक्षका आकाँक्षी नविन चन्द लगायत ८ जनाको समूहले आक्रमण गरेको बताए । संघका नेता कार्यकर्ताहरुले देवकोटालाई हेल्मेट, मुक्का र हातले प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।