धनगढी पोष्ट 
                                बुधबार, ३१ साउन २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । कैलालीमा एकातिर गर्मी छ, भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ ।
कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् । बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए । ‘राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन,’ उनले भने, ‘१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।’ 
बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ । ‘मेरा साना दुई बच्चा छन्, रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्, ‘स्थानीय समिरा चौधरीले भने, ‘गर्मीले घरमा बस्न सक्ने अवस्था छैन, साह्रै दुःख भयो ।’ जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दैआएका थिए । स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ ।