धनगढी पोष्ट
आइतबार, १० भदौ २०८० मा प्रकाशित
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द भएका छन् । गत हप्ता आइतवार भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीलाई सामूहिक कुटपिटको घटनालाई लिएर शिक्षक सम्वद्ध संगठनहरुले विद्यालय बन्द गरेका हुन् ।
विद्यालय परिसरभित्रै पसेर आक्रमण गर्नेहरुमाथि प्रहरीले कारबाही गर्न आनाकानी गरिरहेकोले विद्यालय बन्द गरिएको हो । शिक्षकहरुले विद्यालयभित्रै हतकडी लगाएर नियन्त्रणमा लिइएका शिक्षकलाई सुरक्षा दिन नसक्ने प्रहरीमाथि पनि कारबाहीको माग गरेका छन् । साथै, लेखापाल जोशीले विद्यार्थीमाथि गरेको दुर्व्यवहारको सत्यतथ्य छानविनको माग गरिएको जोशीको भनाई छ ।
गत आइतवार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि अभिभावक, स्थानीवासी र विद्यार्थीले उनीमाथि आक्रमण गरेका थिए । कुटपिटका कारण लेखापाल जोशी सख्त घाइते भएका थिए । उनको अहिले पनि धनगढीस्थित निसर्ग अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा उपचार चलिरहेको छ । अहिले उनको प्रहरी निगरानीमा उपचार भइरहेको हो ।
लेखापाल जोशीले विद्यालयको सिंढीमा भेट हुँदा छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ । अभिभावकले आक्रमणकारी तथा दोषी प्रहरीमाथि कारबाही नभएसम्म विद्यालय बन्द गरेका छन्। प्रहरीले किटानी परेकामध्ये ४ जनालाई पक्राउ गरेको छ ।
किटानी जाहेरीमा नाम उल्लेख भएका स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए ।