धनगढी पोष्ट
आइतबार, १० भदौ २०८० मा प्रकाशित
धनगढी । सुदूरपश्चिमसरकारको विपत् प्रतिकार्य योजना लागु भएको छ । विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरेर प्रदेश सरकारले लागु गरेको हो ।
योजनामा मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ ।
यस वर्ष केही ढिलो गरी कार्ययोजना तयार पारिएको मन्त्रालयले जनाएको छ । कार्ययोजनाले बाढीपहिरो र अन्य पानीजन्य प्रकोपको सम्भावित क्षति आकलन गर्न तथा आपत्कालीन अवस्थामा कुन कुन निकायलाई कसरी परिचालित गर्ने भन्ने विषयमा सहजीकरण हुने मन्त्रालयले बताएको छ ।