धनगढी पोष्ट
बिहिबार, ०२ कार्तिक २०८० मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते प्रदेश लगानी विकास सम्मेलन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको सुदूरपश्चिम प्रदेश मन्त्री परिषदको बैठकले फागुन २३ र २४ गते लगानी विकास सम्मेलन गर्ने निर्णय गरेको हो ।
मन्त्री परिषदको निर्णबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशका आन्तरिक र बाह्य लगानी भित्र्याउन लगानी तथा विकास सम्मेलन गरिन लागेको बताए । ‘सुदूरपशिचमको समग्र विकासका लागि लगानी सम्मेलन कोसेढुंगा सावित हुने छ,’ मुख्यमन्त्री शाहले भने, ‘यो सम्मेलन सम्मेलनका लागि मात्र नभई लगानीको प्रतिबद्ध सहितको हुने छ ।’ सम्मेलनमा सुदूरपश्चिमको सम्भाव्यता, लगानीका क्षेत्र के कस्ता छन् भन्ने बारेमा लगानी कर्तालाई जानकारी गराइने छ । लगानी गर्दा प्रदेश सरकारले के–कस्ता सेवा सुबिधा दिने भन्ने कुरा पनि लगानी कर्तालाई जानकारी दिइने मुख्यमन्त्री शाहले बताए ।
सम्मेलनमा देश भित्र रहेका र देश बाहिरका लगानी कर्ताको सहभागिता रहेने मुख्यमन्त्री शाहले जानकारी दिएका छन् । ‘हामिले विगतमा पनि सुदूरपश्चिममा लगानी गर्न चाहने उद्योगिलाई सुदूरपश्चिममा लागनी गर्न अपिल गर्दै आएका छौं,’ मु्ख्यमन्त्री शाहले भने, ‘लगानी गर्दा लगानी सुरक्षा, यातायात र विद्युत विस्तारको सवै जिम्मा सरकारलेनै लग्ने छ, नीतिगत समस्या समाधानका लागि पनि प्रदेश सरकार तयार हुने छ ।’