धनगढी पोष्ट
बिहिबार, ०९ कार्तिक २०८० मा प्रकाशित
धनगढी । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव बिहीबार नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत बिहान ७ बजे उनको शव काठमाडौं ल्याइएको हो ।
नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । हमासको आक्रमणमा परी मृत्यु भएका बाँकी पाँचजनाको शव पनि चाडै नेपाल ल्याइने उनले बताए । यसअघि दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् । यसै घट्नामा कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् ।