धनगढी पोष्ट
बुधबार, १५ कार्तिक २०८० मा प्रकाशित
धनगढी । बिल्डअन नेपाल र गोदावरी नगरपालिकाको साझेदारीमा दुर्गा माध्यमिक बिद्यालय कोल्मुडाको भवन निर्माण शुरु भएको छ । गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र भट्टले भवनको शिलान्यास गरेका हुन् ।
बिल्डअनको ३० लाख र गोदावरी नगरपालिकाको १२ लाखको साझेदारीमा बिद्यालय भवन निर्माण गर्न लागिएको हो । भवनमा तीन कोठा रहनेछन् भने बिद्यार्थीहरुका लागि दुई शौचालय पनि निर्माण गरिने छन् ।
बिद्यालय भवन १ शय ६ दिनमा सक्ने लक्ष्य लिइएको छ । बिल्डअन नेपालकी निर्देशक निर्मला चौधरीले भनिन् “भवन भुकम्प प्रतिरोधी र बिद्यार्थीमैत्री रहने छ ।”
बिल्डअनले यसअघि पनि उक्त बिद्यालयमा तीन कोठे भवन बनाएको थियो । बिद्यालयको लागि थप भवनको आवश्यकता रहेकोेले भवन निर्माण गर्न लागिएको निर्देशक चौधरीले बताइन् ।
निर्देशक चौधरीका अनुसार भवन निर्माणका लागि आवश्यक दक्ष मिस्त्री, निर्माण सामाग्री ( इटा, सरिया, सिमेन्ट, किला काटा, मिक्चर मेशीन, झ्याल, ढोका ) बिल्डअनले उपलव्ध गराउनेछ । नगरपालिकाको रकमबाट ढुँगा, गिटी, बालुवाको व्यवस्था गरिनेछ । ढोकाको लागि काठ समुदायले उपलव्ध गराउनु पर्नेछ । स्थानीय उपभोक्ताले श्रमदान गरेमा बाकी रहेको रकमबाट थप काम गर्न सकिनेछ ।
भवन निर्माण बिल्ड अनका प्राविधिकको निर्देशन र अनुगमनमा तालिम प्राप्त मिस्त्रीले गर्नेछन् ।
निर्देशक चौधरीले शिक्षा प्राप्त गरेपछि मात्र सही बिकास हुने भएको बिल्डअनले बालबालिकाहरुलाई शिक्षा प्राप्त गर्न सहज होस् भनेर बिद्यालय भवन निर्माण गरिरहेको बताइन् ।
गोदावरी नगरपालिकाका मेयर बीरेन्द्र प्रसाद भट्टले पालिकाका अहिले बजेट कम भए पनि शिक्षा प्राप्त गर्ने बालबालिकाको अधिकार सुरक्षित गर्न बिद्यालय भवन निर्माणमा बिल्डअनसँग सहकार्य गरिएको बताए । “बजेट कम भएकोले जनताका धेरै आवश्यकता अहिले सम्वोधन गर्न सक्ने अवस्था छैन ।” मेयर भट्टले भने “तर पनि कोल्मुडावासीको आवश्कयता र चुनावका बेला गरेको प्रतिवद्धताका कारण बिद्यालय भवन निर्माणमा बजेट बिनियोजन गरेको छु ।”
बिल्डअनका सहसचिव यज्ञराज चौधरीले बिद्यार्थीहरुलाई अध्ययन गर्न सहज होस् भनेर बिद्यालयमा भवनहरु निर्माण कार्य भैरहेको बताए ।
बिद्यालयका प्रधानाध्यापक नेत्र प्रसाद भण्डारीले बिकट ठाउमा रहेको बिद्यालयका लागि बिल्डअनले भवन निर्माण गरेर बिद्यार्थीहरुलाई शिक्षा दिन सहज वातावरण निर्माण गरेको बताए ।
भवन निर्माणका लागि समुदायले श्रमदान गरिरहेका छन् । बिल्डअनका २ जना र भवन निर्माणका लागि सहयोग गर्ने दश जना बिदेशी सहयोगदाताहरु पनि भवन निर्माणका लागि श्रमदान गरिरहेका छन् ।
बिल्डअनले हालसम्म ३ शय ८२ बिद्यालय भवनहरु निर्माण गरिसकेको छ । निर्देशक चौधरीका अनुसार गोदावरीमा हाल निर्माण भैरहेको २७ औं भवन हो भने कैलाली जिल्लामा १ शय ८९ औं भवन हो ।